मालिका गाउँपालिकाले तयार पार्‍यो पर्यटन गुरुयोजना

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते ५:१९

-सन्तोष गौतम , म्याग्दी । स्थानीय मालिका गाउँपालिकाले पर्यटन विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको छ । उक्त गुरुयोजनामा मालिकाका पर्यटकीयस्थलमा आधारभूत पूर्वाधार निर्माणका लागि रु सात करोड पचास लाख लगानीको प्रस्ताव गरिएको छ ।

पर्यटकीयस्थलको अवस्था, सम्भावना, समस्या र आवश्यकता पहिचान गरी पूर्वाधार निर्माणका लागि सो गुरुयोजना निर्माण गरिएको हो ।मालिकाको पर्यटक विकासका लागि पदमार्ग, होमस्टे र पर्यटक विश्रामस्थल र आवासस्थललगायतका पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने गुरुयोजनामा उल्लेख छ । मालिका धुरी, भालेबास्ने ताल, बराह ताल, सोले डाडाँ, दुरु लेक, गाईखर्क ताल र देवताभीर, गुफाजस्ता पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार प्रसार र योजनाको अभावमा ओझेलमा पर्दै आएका थिए ।

गुरुयोजनामा बेनी नगरपालिकाको पछैदेखि मङ्गला र रघुगङ्गाको सीमाक्षेत्रमा अवस्थित टोड्के हँुदै भालबास्ने ताल, बिम बराह, दरवाङ, निस्कोट बराह, दुरुलेक, सोलेडाडाँ, गाईखर्क ताल र देवताभिरलाई जोड्ने पदमार्गको नक्साङ्कन गरिएको छ । रुम, विम, देवीस्थान र निस्कोटलाई होमस्टे गाउँका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । पर्यटनविज्ञसहितको टोलीले स्थलगत अध्ययन र सरोकारवालासँग छलफल गरेर गुरुयोजना तयार पारेको परामर्शदाता कम्पनी शुभारम्भ उद्यमशील प्रालिका कुलचन्द्र रेग्मीले बताए ।

गुरुयोजनाअनुसार पर्यटकीयस्थलमा पूर्वाधार निर्माण, प्रचार प्रसार र प्रर्वद्धनात्मक कार्यक्रम गरिने उपाध्यक्ष खरमाया बिटालुले बताए । पर्यटन विकासका लागि गुरुयोजनालाई मागदर्शनका रूपमा लिएर गाउँपालिकाले पर्यटन विकासका योजना तय गर्ने अधिकृत सुवेदीले बताए ।

‘असारे विकास’ अन्त्य गर्न पहल- रघुगङ्गा गाउँपालिकाले ‘असारे विकास’ विकृति न्यूनीकरणका लागि चालु आवका लागि बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम २०७५ चैत १५ गतेभन्दा अघि सम्झौता गरिसक्नुपर्ने बाध्यकारी निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आर्थिक वर्षको अन्त्यमा गरिने पूर्वाधार निर्माण, तालीम र गोष्ठीजस्ता कार्यक्रम दिगो, प्रभावकारी तथा उपलब्धिमूलक नदेखिएकाले सुधारको पहल थालिएको बताए । समयमै गुणस्तरीय काम गराउने र बजेट दुरुपयोग रोक्नका लागि असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्न लागिएको उनले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईंले योजना कार्यान्वयनलाई सहज र प्रभावकारी बनाउन उपभोक्ता समितिका पदाधिकारीलाई तालीमको ब्यवस्था गरिएको बताए । विसं २०७६ जेठभित्र सबै योजनाका काम फरफारक गरिसक्नुपर्ने र दोस्रो चौमासिकको शुरुदेखि नै योजना कार्यान्वयनमा लगिने उनले जानकारी दिए ।

गाउँपालिकाको गत असारमा भएको गाउँसभाले चालु आवका लागि रु २५ करोड बजेट विनियोजन गरेको थियो । सडक नपुगेका बस्तीमा सडक पुर्‍याउने, ट्याक खोलिएका सडकको स्तरोन्नति, सामुदायिक विद्यालयको गुणस्तर सुधार, आयआर्जन वृद्धि, पर्यटकीयस्थलमा पूर्वाधार निर्माण, सामुदायिक भवन, खानेपानी विस्तारका योजनालाई प्राथमिकता दिइएको उपाध्यक्ष कमला तिलीजाले बताए । – रासस 

२०७५ भदौ ८ गते ५:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर