सिसडोल भरिए पछि काठमाडौंको फोहर व्यवस्थापन झन् चुनौतीपूर्ण
आजको खबर | प्रकाशित : २०७५ भदौ ८ गते १५:०४

काठमाडौँ । काठमाडौँको फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। नुवाकोटको सिसडोल फोहर व्यवस्थापन विर्सजन स्थल ल्याण्डफ्रिल्ड साइट भरिइसकेकाले अब शहरमा दैनिक निस्कने ५०० टन फोहर कहाँ फाल्ने भन्ने समस्या उत्पन्न भएको छ।
काठमाडौँ महानगरपालिकाले आज काठमाडौँमा आयोजना गरेको ‘फोहरमैला व्यवस्थापन र विद्यमान ऐन कार्यान्वयन’ विषयक कार्यशालामा वक्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा सिसडोल भरिएका कारण फोहर व्यवस्थापनबारे जनतालाई जनचेतना जगाउनुपर्ने, हानिकारक फोहरमैलाको व्यवस्थापन, ऐन कार्यान्वयन र फोहर व्यवस्थापनको प्रतिबद्धता हुुनुपर्नेमा जोड दिइयो ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकार, महानगरपालिका, निजी क्षेत्र तथा स्थानीयवासीको सामूहिक प्रयासबाट मात्र यो समस्या निराकरण गर्न सकिने विचार व्यक्त गरे । प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले काठमाडौँमा जनसङ्ख्या वृद्धिसँगै फोहर व्यवस्थापनमा चुनौती थपिएको बताए।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापन चुनौतीपूर्ण भएकाले सबै पक्षको सहयोगका लागि आग्रह गरे। काठमाडौँलाई सफा तथा सुन्दर बनाउन काठमाडौँवासीलाई सहयोग गर्न उनले आग्रह गरे।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले नगरपालिका आफ्नो क्षेत्रको फोहर व्यवस्थापनमा आफैँ लाग्नुपर्ने, फोहर व्यवस्थापन योजना बनाउनुपर्ने, फोहर फाल्नका लागि नागरिक आचारसंहिता बनाउनुपर्ने सुझाव दिए। प्रदेश नं ३ का प्रदेशसभा सदस्य माधव पौडेलले फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेकाले महानगरपालिका गम्भीर भई स्थायी फोहर व्यवस्थापन गर्नुपर्ने बताए ।