काँग्रेस केन्द्रीय समिति बैठक आज

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते ०:५०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार बस्दैछ।

पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरुबीच आज दिनभरको छलफल र सहमतिपछि बैठक आज बिहान ११ बजे बस्ने तय भएको हो ।

पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्षनेताहरुबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक आजका लागि तय भएका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताए ।

विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरुबीच छलफल भएको उनले जानकारी दिए। ‘धेरै विषयमा सहमति भए पनि केही विषयमा टुङ्गो लाग्न बाँकी छ,’ नेता बडूले भने।

गत वैशाख १६ गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचनाअनुसार पार्टीको पुनः संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।

सोही निर्णयअनुसार बिहीबार काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमा काँग्रेसका जिल्ला सभापतिहरुले पनि सहभागिता खोजेपछि शीर्षनेताहरुले त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा पनि छलफल गरेको उनले जानकारी दिए ।

गत असार पहिलो साता मकवानपुरको हेटौंडामा सम्पन्न काँग्रेसका जिल्ला सभापतिहरुको राष्टिय भेलामा शीर्षनेताहरुले मस्यौदा समितिमा जिल्ला सभापतिहरुको पनि सहभागिता हुने आश्वासन दिएका थिए।

मस्यौदा समितिले विधान संशोधनका लागि गर्ने तयारीको समयावधिलाई ध्यान दिएर महासमिति बैठकको मिति तोक्ने र काठमाडौँ वा पोखरामध्ये एक स्थानमा महासमिति बैठक गर्ने सम्बन्ध छलफल भएको बताइएको छ ।

यसअघि गठन गरिएको कार्यसम्पादन समितिका बारेमा विवाद देखिएपछि उक्त समिति विघटन गरिएको थियो । काङ्ग्रेस विधानको दफा २९ बमोजिम कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै केन्द्रीय समितिबाट बढीमा २२ जना रहने व्यवस्था छ ।रासस

२०७५ भदौ ९ गते ०:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर