पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते ४:३०

नुवाकोट । पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।
शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र परेका एक यात्रु नवराज घिमिरेले जानकारी दिए । ‘माथिबाट डाँडै खसेको छ, ठूला–ठूला ढुङ्गा बगेर आएका कारण ५० मिटरजति सडक पुरिएको छ’ उनले भने ।
आज बिहानबाट पहिरो पन्छाउने काम शुरु भएको वडा नं ४ का वडाध्यक्ष दीपेश लामाले जानकारी दिए । उक्त राजमार्गको स्तरोन्नति गर्ने क्रममा सडकको भित्ता काटिएकाले बर्खा लागेसँगै ठाउँठाउँमा साना–ठूला पहिरो गएर पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ ।रासस
२०७५ भदौ ९ गते ४:३० मा प्रकाशित