बलात्कारीलाई फाँसीको सजाय हुनु पर्ने मागप्रति जनमत बढ्दै
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते १३:१९

काठमाडौं । बेला बेलामा बलात्कार जस्ता जघन्य अपराधमा फाँसीको सजाय हुनुपर्ने बहस नेपालमा भइरहेका थिए, छन् । तर पछिल्ला केही घटनाले फाँसीको सजायप्रति जनमत पनि बढ्दै गएको छ ।
खास गरी भारतमा भएको निर्भया बलात्कार काण्डले भारतमात्र होइन नेपालमा पनि त्यसले हलचल ल्यायो । त्यसपछि नेपालमा पनि फाँसी सजाय हुनुपर्ने अधिकारवादी संघसंस्थाले वकालत गर्दै आए । आफन्तबाटै बलात्कार, शिक्षकबाटै बलात्कार र बलात्कारपछि हुने हत्या र बालबालिका पनि बलात्कारमा परेपछि फाँसीको सजायप्रति जनमत बढेको हो । भावनामा बग्ने नेपाली समाज अहिले यस्ता अपराधीलाई मृत्यु दण्डकै पक्षमा रहेको सन्देश सामाजिक सञ्जालमा हुने बहसले देखाएको छ ।
राजधानीमा केही दिनअघिमात्र बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग राखी महिलाहरुले अर्धनग्न आन्दोलन गरे । शनिबार पनि विभिन्न फोरमहरुमा यस्तै सजायको माग भयो । कञ्चनपुरमा भएको निर्मला हत्याकाण्डले पनि यो बहसलाई थप प्रेरणा दिएको छ । शनिबार राजधानीमा भएको एक कार्यक्रममा सांसदहरुले नै मृत्यु दण्डको व्यवस्था हुनुपर्ने माग राखे ।
भलै नेपालको संविधानमा मृत्यु दण्डको सजाय हुने व्यवस्था नभए पनि सांसदहरुले नै यस्तो माग राखेपछि अब यो विषय संसदमा पनि प्रवेश गर्ने प्राःय निश्चित छ ।
नेपाल महिला संघकी अध्यक्ष एवम् प्रतनिधि सभा सदस्य उमा रेग्मीले बलात्कारलगायत महिलामाथि हुने हिंसा र जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाउन माग गरेकी छिन् ।
उनले भनिन्,‘बलात्कारमा संलग्न दोषीलाई मृत्युदण्ड दिने व्यवस्था अमेरिकाको अधिकांश राज्यमा छ । भारतमा पनि बलात्कारका घट्नाहरु बढ्न थालेपछि आन्दोलनमार्फत मृत्युदण्ड दिने व्यवस्था गर्न भारत सरकार बाध्य भयो । अब, नेपालमा पनि संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्छ ।’
८ देखि १० जना बलात्कारीहरुलाई सार्वजनिक ठाउँमा झुण्ड्याएर गोली ठोकेपछिमात्रै मानसिक रुपमा तिनीहरु बलात्कारलगायतका आपराधिक गतिविधिमा सलंग्न नहुने र महिलामाथि हिंसा गर्नुअघि एकपटक सोच्न बाध्य हुने उनको भनाई छ ।
कञ्चनपुरको घट्नाको सन्दर्भमा बनेको छानविन समितिमा सबै पुरुषमात्रै भएको बताउँदै उनले यस्तो छानबिन समितिप्रति आफूहरुलाई पटक्कै विश्वास नभएको समेत जिकिर गरिन् ।
उनले भनिन्, ‘यो अत्यन्तै जघन्य अपराध हो । अहिलेसम्म सरकारी संयन्त्रले दोषी पत्ता लगाउन सकेको छैन । सरकार र प्रहरी प्रशासनप्रति जनताको विश्वास दिनप्रतिदिन घट्दै गएको छ । सरकारले बनाएको छानबिन समितिप्रति पनि हामीलाई कुनै विश्वास छैन । त्यसैले संसदले सर्वपक्षीय महिला तथा पुरुष सबैलाई समेटेर शक्तिशाली संसदीय छानबिन समिति त्यो पनि सार्वभौम संसदबाटै बनाउनुपर्छ ।’
कञ्चनपुर घट्नामा राज्यशक्तिको दुरुपयोग भएको पनि उनको आरोप छ । उनले भनिन्,‘अघिल्लो प्रहरी प्रशासनमाथि छानविन गर्न माग गर्दछु । पूर्व प्रशासकहरुमाथि तत्काल छानबिन गरेर दोषी पाईए, कडा कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ । जनताले कतैबाटपनि न्याय नपाएको खण्डमा सडकमा निस्किछन् । सरकारले जनताको आवाजलाई सुन्ने हो, गोली हान्ने होईन । हत्यारा र बलात्कारीलाई कारबाही गर भनेर आन्दोलनमा उत्रेका अर्का १४ वर्षीय बालकलाई प्रहरीले छातिमा ताकेर गोली प्रहार गरि हत्या गरेको छ । गोलि चलाउने र आदेश दिने प्रहरीमाथिसमेत छानविन हुनुपर्छ ।’
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले बलाल्कारीलाई फाँसी दिने कानून आवश्यक भएको बताएकी छिन् ।
उनले भनिन्,‘जनताका मागहरु राज्यले पूरा गर्नुपर्छ । कञ्चनपुरका जनताहरु आँखामा आँसु बोकेर सडकमा उत्रेका छन् । कुनै राजनीतिक गन्ध दिएर सरकार र सरकारमा भएका व्यक्तिहरुले त्यो घट्नाका बारेमा बेखबर बन्न मिल्दैन । सरकारले यस घट्नालाई सरकारले गम्भिर रुपमा लिनुपर्छ । जघन्य अपराध गर्नेलाई मृत्युदण्ड दिनुपर्छ । हाम्रो पार्टी बलात्कारीलाई मृत्युदण्ड दिनेबारेमा छलफल गर्न तयार छ ।’
सांसद चौधरीले आफ्नो पार्टीका झापादेखि कञ्चनपुरसम्मका महिला नेतृहरु बलात्कारीलाई मृत्युदण्ड दिने कानून व्यवस्थाको लागि एक ढिक्का भएर उभिनेपनि विश्वास दिलाईन् ।
महामन्त्री चौधरीले कञ्चनपुर घट्नामा प्रहरी प्रशासननै दोषी भएको आशंका समेत गरेकी छिन् । उनले भनिन्,‘कञ्चनपुरको घट्नाका सम्बन्धमा त्यहाँको प्रशासननै दोषी प्रमाणित हुँदैछ । तल्काल प्रहरी प्रशासनमाथि छानविन होस् । बलात्कारपछि हत्या गर्नेलाई उन्मुक्ति दिएर फरक पात्र खडा गरेर प्रहरीले आफूलाई असफल प्रमाणित गर्दैछ।’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले कञ्चनपुरको घट्नाका बारेमा सरकार गम्भिर रहेको जानकारी दिएकी छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले १३ वर्षीया निर्मला पन्तका हत्यारालाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति प्रदान गर्न सरकार गम्भिर रहेको बताएकी हुन ।
साक्षात्कारमा मन्त्री थापाले भनिन्,‘पाँच वर्षको लागि स्थिर सरकार बनेको छ, सरकार जनताको जिउ धनको सुरक्षा गर्न संवेदनशील छ, कञ्चनपुरको घट्ना एकदमै दुःखत छ, निर्मलाको हत्यामा संलग्नको पहिचान गर्छौं र कानून अनुसार कारबाही पनि गर्छौं, उक्त घट्नाको बारेमा अनुसन्धान लामो भयो, जनताले शंका गरे, अनि आन्दोलन भयो, सरकारले कञ्चनपुरको प्रहरी प्रशासनलाई फिर्ता बोलाएको छ, त्यहाँ पठाईएका नयाँ प्रशासक र सुरक्षा प्रमुखले समयमै काम गर्छन् ।’
कञ्चनपुर घट्नाको बारेमा बनेको छानविन समितिले तत्काल काम गर्ने बताउदै मन्त्री थापाले घट्नामा संलग्न जोकोहीलाई कानूनको दायारमा ल्याएरै छोड्ने बताईन् । हिजो साँझ गोली चलेर १४ वर्षीय बालकको निधन भएको घट्ना दुःखद् रहेको उनले बताईन् ।