होचो भए भनेर पिर लाग्छ ? खुसी हुनुस् ! होचो हुनु स्वास्थ्यका लागि फाईदै फाइदा
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते १४:२७

एजेन्सी । होचो मान्छेलाई कतिपयले हेप्ने गरेको पाईन्छ । छोटे, पुड्के,डल्ले लगायतका उपनाम लगाएर जिस्काउने/हेप्ने गरिन्छ ।
अरुले यसरी बोल्न थालेपछि उनीहरुलाई म पनि अलिक अग्लो भईदिएको हुन्थ्यो भन्ने चाहन्छन् । अग्ला मानिस धेरै हिड्न सक्ने, आर्कषक र सफल हुने सबैको विश्वास छ । त्यस्तै पछिल्ला दिनमा महिलको उचाईलाई धेरै महत्व दिइन्छ । अग्ला महिला पुरुषको तुलनामा अझ बढी आकर्षक देखिन्छन् भन्ने मान्यताले पनि आम महिलामा उचाई बढिदियोस् भन्ने चाहना बढिरहेको पाइन्छ ।
तर होचो हुनेहरुका लागि खुसीको कुरा छ । फेरी पुड्को भने होईन् है । औषत उचाई हुनु स्वास्थ्यका लागि फाइदाजनक रहेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार होचो हुने मान्छेका लागि केही खुसीका कुराहरु छन् । ती कुराहरु हामीले तल उल्लेख गरेका छौँ ।
१. धेरै वर्ष बाँच्छन्
अमेरिकाको पीएलओएस ओनमा प्रकाशित एक जर्नलमा प्रकाशित अध्ययन अनुसार छोटो कदका मानिसको जीवन अग्लो कद भएकाहरु भन्दा लामो हुन्छ । अध्ययनमा ८ सय जापानी र अमेरिकी महिलामा ४० वर्षसम्म अध्ययन गरिएको थियो । अग्लाहरु होचोको तुलनामा बढी रोगी हुने अध्ययनमा देखाइएको थियो ।
२. क्यान्सर खतरा कम
क्यान्सर कज एन्ड कन्ट्रोल नाम दिएको सन् २०१४ को एक अध्ययनमा अग्ला मानिसलाई क्यान्सर र क्यान्सरजन्य खतरा हुने देखाईएको छ । अन्य धेरै अध्ययनले पनि अग्ला महिलामा अन्डासय र स्तन क्यान्सरको खतरा देखाएको थियो । त्यस्तै अग्ला पुरुषलाई कोलोन, रेक्टम र प्रोस्ट्रेट क्यान्सरको खतरा हुने गर्छ ।
३. रगत जम्ने खतरा न्युन
अग्लो व्यक्ति लामो समयसम्म निष्क्रिय बस्यो भने बारम्बार रगत जम्ने समस्या वा रक्तनलीसँग सम्बन्धित अन्य समस्याले पीडित बन्न सक्छ । हालै मात्र जर्नल अफ थोर्मबोसिस एन्ड हेमोस्टासिसमा प्रकाशित एक अध्ययन अनुसार १ सय ९५ सेमी देखि २०० सेमीका मानिसलाई दुई भन्दा बढी पटक रगत जम्ने समस्या देखिएको थियो ।
४. जनेन्द्रिय बढी चनाखो
न्युरोलोजिस्त डेभिड इगलम्यानका अनुसार होचा मानिसको तुलनामा अग्ला मानिसले संसारलाई अलि ढिलो गतिमा अनुभव गर्छन् । अग्ला मानिसले होचाको तुलनामा १० भागको १ भाग ढिलो आफ्ना आँखा, कान, जिब्रो र छालामार्फत चेतनायुक्त तथ्यांक (सेन्सरी डाटा) प्राप्त गर्छन् । अग्लो मानिसको दिमागको स्नायुको मार्ग अलिक लामो भएकोले दिमागले लिने सूचना र संकेतमा पनि ढिलाई हुन्छ । इगलम्यानका अनुसार यही ढिलाईका कारण जहिलेपनि वर्तमान अतित भइसकेको हुन्छ ।