मिस टुरिज्मको उपाधि भक्तपुरकी मनिता पौडेललाई

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १४:३३

काठमाडौँ । मिस टुरिज्मको उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छिन्। आज भएको अन्तिम प्रतिस्पर्धामा आफ्ना १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिज्मको ताज चुमेकी हुन्। जितसँगै उनले नगद रु ५० हजार हात पारिन्। पौडेलले मिस फोटेजेनिकको उपाधिसमेत जितेकी छिन्।

प्रतियोगिताको फस्ट रनरअपको उपाधि प्रकृति ढकालले जितेकी छिन् भने श्रुती थापाले सेकेण्ड रनरअपको अपाधि जित्दै क्रमश रु ३० हजार र रु २० हजार प्राप्त गरे । प्रतियोगितामा दीक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाइस, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिप्लिन, सङ्गीता थापा मिस फिगर र मिस पर्सनालिटिज, सिर्जना घिमिरे मिस फ्रेन्डसीप र सुमी थापा मिस वाल्क घोषित भए।

मिस टुरिज्मको उपाधि चुमेकी १९ वर्षीया पौडेल ट्राभल एन्ड टुरिज्म विषयमा स्नातक अध्ययनरत् छिन्। रासससँगको कुराकानीमा पौडेलले पर्यटन क्षेत्रमा महिलाको सहभागिता वृद्धिका लागि सक्रिय भूमिका खेल्ने बताइन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन प्रवद्र्धनात्मक अभियानमा लागी पर्ने पौडेलको भनाई छ।

विजेतालाई विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बेसेडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर प्रदान गरिने आयोजक प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक काफ्लेले बताए। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्वाइन्ट मिडियाले (सन् २०१६ देखि) तीन वर्षदेखि प्रतियोगिता गर्दै आएको छ।

प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरणबाट उनीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्ने आयोजकको दाबी छ । पहिलो मिस टुरिज्म ओरुषा थापा र दोस्रो मिस टुरिज्मको उपाधि आरती थापाले जितेका थिए । प्रतियोगितालाई नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संस्थाको सहयोग रहेको छ।

२०७५ भदौ ९ गते १४:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर