ओबामासँग चुनावमा पराजित अमेरिकी सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन
आजको खबर | प्रकाशित : २०७५ भदौ १० गते ६:२०

वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय उम्मेदवार रहिसकेका चर्चित राजनीतिज्ञ सिनेटर जोन म्याक्केनको मस्तिष्क क्यान्सरका कारण शनिबार निधन भएको छ । उनि ८१ वर्षका थिए । भियतनाममा अमेरिकी सेनाका तर्फबाट युद्ध लडेका म्याक्केन सैनिक जीवनबाट अवकाश लिएसँगै राजनीतिमा आएका थिए ।
अमेरिकी राजनीतिमा आक्रामक स्वभाव भएका रिपब्लीकन पार्टीका वरिष्ठ नेता म्याक्केन कतिपय नीतिहरुमा पार्टी धारणाभन्दा भिन्न विचार राख्ने गर्थे । उनि राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक मानिन्थे । उनि अमेरिकाको एरिजोना राज्यबाट छ पटक सिनेटमा चुनिएका थिए । राष्ट्रपतिमा रिपब्लीकनका तर्फबाट उम्मेदवार भएका म्याक्केन पूर्व राष्ट्रपति बाराक ओबामासँग पराजित भएका थिए ।
ओबामासँग चुनावमा पराजित भएपछि पनि म्याक्केनले राजनीतिबाट अवकाश लिएनन्। उनि पुनः सिनेटमा निर्वाचित भए। अमेरिकी राजनीति र राष्ट्रपतिका नीतिहरुमा खुला छलफल र कडा बहसमा उत्रन रुचाउने उनको पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विभिन्न विषयमा तिब्र मतान्तर रहिआएको थियो ।
सैनिक परिवारका म्याक्केनले संसदको सैनिक सेवा समितिको अध्यक्षको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनि अमेरिकी सैनिकको व्यापक उपस्थिति विश्वमा रहनुपर्दछ भन्ने धारणा राख्थे। उनि अमेरिकालाई ध्वस्त पार्न चाहने उग्रवादी इस्लामी बललाई परास्त गर्नुपर्नेमा दृढ विचार राख्थे।
सन् २०१७ मा उनले गरेको एउटा नाटकीय मतदान सदैब सम्झना गर्ने गरिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गर्न चाहेको जीवन बीमा सम्बन्धी चर्चित विधेयक ‘एफोर्डेबल केयर एक्ट’ मा म्याक्केनले लामो छलफलपछि विपक्षमा मतदान गरेका थिए । त्यही एक मतका कारण ट्रम्पको प्रस्ताव बिफल हुनुका साथै ओबामाले ल्याएको ऐनले निरन्तरता पाएको थियो ।
म्याक्केनको निधनप्रति राष्ट्रपति ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत अन्य विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गर्दै अमेरिकाले एकजना इमान्दार र असल व्यक्ति गुमाएको प्रतिक्रिया दिएका छन् ।