वैदेशिक रोजगारको नाममा एक वर्षमै डेढ अर्ब ठगी
आजको खबर | प्रकाशित : २०७५ भदौ ११ गते ५:३०

निर्मला घिमिरे
काठमाडौं। वैदेशिक रोजगारीका नाममा ठगिएका नेपालीहरुको निकै भयावह तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको नाममा ठगिएर उजुरी गर्नेहरुको मात्रै तथ्यांक हेर्दा समेत यो ठगीको आँकडा निकै विकराल देखिन्छ। त्यसमाथि उजुरी नगर्नेको संख्या अझै ठूलो छ। अघिल्लो आर्थिक वर्षमा मात्र वैदेशिक रोजगारीको नाममा अर्बौं रकम ठगी भएको देखिएको छ।
वैदेशिक रोजगार विभाग बुद्धनगरमा आर्थिक वर्ष ०७४/०७५ मा परेका उजुरीको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीको नाममा कूल १ अर्ब, ५३ करोड, २० लाख, ७१ हजार, २ सय ५५ रुपैयाँ ठगी भएको दावी गरिएको छ। जसमध्ये व्यक्तिगत ७५ करोड, ३७ लाख, १० हजार, ७३ रुपैयाँ ठगीको दावी गरिएको छ भने संस्थागत ७६ करोड, ८३ लाख, ६१ हजार, १सय ८२ रुपैयाँ ठगीको दावी गरिएको छ। यो उजुरी गर्नेहरुको मात्र तथ्यांक हो । उजुरी नगर्नेहरुको तथ्यांक यसमा समावेश नभएकोले ठगीको परिमाण यसको दोब्बरसम्म हुन सक्ने अनुमान गरिएको छ।
विभागमा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका युवायुवतीले दिएको उजुरीमा मेनपावर कम्पनीले चर्को शुल्क असुलेको, लामो समयसम्म राहदानी थन्काएर राखेको, भिसा आइहाल्छ भन्दै वर्षौं वर्षसम्म अल्झाएको, राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर विदेश पठाए पनि विदेशमा पुगेर अलपत्र परेर फर्कनु परेको जस्ता गुनासो गरिएका छन् । गत आर्थिक वर्षमा विभागको उजुरी शाखामा २ हजार १ सय २९ मुद्दाहरु दर्ता भएका छन्।
अर्बौंको दावीसहित उजुरी परेको भए पनि विभागले भने हालसम्मको उजुरी र दावी रकम हेरेर जम्मा ३७ लाख जरिवानाको निर्णय गरेको छ । विभागमा आर्थिक वर्ष ०७४/०७५ मा कुल २ हजार १ सय २९ उजुरी परेका छन्। जसमध्ये १ हजार १ सय ९ व्यक्तिगत र १ हजार २० संस्थागत उजुरी परेका छन्। परेका उजुरीमध्ये जम्मा व्यक्तिगतमा १ सय ९१ र संस्थागतमा ८ सय ३२ वटा उजुरी मात्र हालसम्म मिलेको विभागको उजुरी तथा अनुसन्धान शाखाको तथ्यांकले देखाएको छ।
विभागमा दर्ता भएका उजुरीहरु सवै कारबाहीमा परिसकेका छैनन्। उजुरीको प्रकृति र उजुरीमा पेश भएका प्रमाणका आधारमा विभागले दोषी व्यक्ति वा कम्पनीलाई नियम अनुसार कारबाही गर्ने जनाएको छ। वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धवप्रसाद रिजालले उजुरीको प्रकृति हेरी प्राप्त प्रमाणका आधारमा विभागले दोषीलाई कारबाही गर्दै पीडित पक्षलाई राहत दिँदै आएको बताए।
हालसम्म चर्को शुल्क असुल्ने र कामदारलाई ठगी गर्ने १९७ वटा मेनपावर कम्पनीलाई विभागले कारबाही गरिसकेको छ। धेरै रकम असुली गर्ने मेनपावर कम्पनीहरुमा इन्टरनेशनल जब, लिंक निड्स इम्पोइमेन्ट, ह्वाइट स्पेस, युनिभर्सल इन्टरनेशनल र सिद्धार्थ ग्लोबल रहेका छन्। यस्ता चर्को रकम असुल्ने र कामदारलाई ठगी गर्ने मेनपावरको काम विभागले रोक्का गर्दै आएको छ।