अब नारीमा बिद्रोह र प्रतिशोधको ज्वाला दन्कदैछ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते ६:२०

सुनिरा मैनाली 

घटना नम्बर १- झापाको अर्जुनधारा २ स्थित खुदुनाबारीमा चार वर्षीया बालिकामाथि बलात्कार भएको थियो । बलात्कार प्रयासका आरोपी छिमेकी १५ वर्षीय विजय गजमेरलाई मात्र प्रहरीले पक्राउ गरेको थियो ।

घटना नम्बर २ – फेरि अर्जुनधारा ९ स्थित कालिस्थानमा राति १० बजे शौचालय गएकी दिदीलाई कुरिरहेकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार प्रयास भएको हो । मामाघरमा बस्दै आएकी ती बालिकालाई आरोपितद्वय अर्जुनधारा९९का २८ वर्षीय बालकृष्ण घिमिरे र २४ वर्षीय पेमा तामाङले जबरजस्ती बलात्कारको प्रयास गरेका थिए ।

घटना नम्बर ३- फेरिपनि अर्जुनधारा ११ मा ९ बर्षिया बालिका बलात्कृत भएकी छिन् । अर्जुनधारा ११ का ७० बर्षिय मानबहादुर बानीया द्वारा बालिका बलत्कृत हुन पुगेकी हुन । सानीआमाको घरमा बस्दै आएकी बालिका एक्लै भएको अवस्था मा उक्त घटना घटेको थियो ।

मलाई कसैको पक्ष वा विपक्षमा रहेक बोल्नु छैन । तर, एउटा कुरा चाँही पक्कै भन्न मन लागेको छ । हिजो अस्ति केही महिना अगाडी मात्र एउटा व्यक्तिले बङ्गलादेशमा चिकित्साशास्त्र पढ्न गएका विद्यार्थीहरु बलात्कृत हुने गरेका छन् भन्दा हरेक आलोचना भए । सामाजिक संजाल, फेसबुक, टुइटरहरुमा नेपालीहरुले बिरोध जनाए । कारबाहिको माग गरे र सरकारले नसके हामी आफै थुतुनो लुस्ने सम्मका कुरा आए । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिनु पर्यो । एउटा ब्यक्तिले बोलेको क’रामा यति धेरै आलोचना गर्ने यो समाज र यहाँ मानिसहरु नेपालमा प्रत्येक घण्टा, प्रत्येक मिनेट, प्रत्येक सेकेण्ड बलात्कार र हत्याका घटना हुँदा किन चुप छन् । थुतुनो लुस्ने कुन दुलामा पसे ? मानव अधिकारकर्मी कता गए ?

आज मेरो मन नराम्ररी दुखेको छ । अनि बिद्रोह र प्रतिशोधको ज्वाला दन्केको छ । यो मन बिचलित भयो । एकाबिहानै रेडियो र पत्रपत्रिकामा बलात्कार र बलात्कार पछि बर्बर हत्या भन्ने शिर्षकको समाचारहरु सुन्नु र पढ्नु दैनिकै झै लाग्छ । मस्तिष्क हल्लिन्छ, समाजमा कतिसम्म मनुष्यरुपि पशुहरुको जन्म हुँदोरहेछ भनेर ।

के बालिका, के बृद्धा, केही छुट्टाउन नसक्ने कायर र सम्पुर्ण पुरुष बर्गका लागि कलङ्कहरुले आज एउटी नारीको बलात्कार पछि बर्बरता पुर्बक हत्या गर्नु कहाँसम्म हो । आफ्नो बिद्वताको प्रयोग छोरिहरुले गर्न नपाउने ? दिदीबहिनीको रिस गरेर आफ्नो क्षणिक कामबासना पूरा गर्न नपाउँदा त्यस्तो हदैसम्म अपराध गरेर नपुगेर हत्या गर्ने ? कस्तो मन र मुटुका मान्छेले येस्तो गर्छन् ? यस्तो जघन्य अपराधमा राज्य किन उदासिन छ ? भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गरौं भन्ने समाज आज छोरीचेलीको इज्जत लुटिदा र हत्या हुँदा किन बोल्दैन ? बलात्कारका दोसिलाई फाँसी दिउ भनेर किन कसैले भन्दैन ? राज्य किन कानुन बनाउन चुकेको छ ?

बलात्कारको पिडा थाहापाउन छोरी भएर जन्म लेउ तब थाहा हुन्छ । पबित्र मायामा राखिने सम्बन्ध जबर्जस्तीमा कती पिडादायी हुन्छ भनेर बुज्ने भए अबोध शिशुलाई झम्टन कुनै पुरुष जादैन थिए होला । हिम्मत छ भने चेतनशिल पुरुषले आफ्नो पुरुषत्वको घमण्ड नगरी सबै एक भएर साथ दिनुहोस र समाजबाट बलात्कार जस्ता कुकर्मको जरा उखलेर फाल्नुहोस् । एउटी नारी भएको कारणले मेरा प्रश्न ।

१ के नारी भोग गर्न अनि झिंगा, लाम्खुट्टे जस्तै किचेर मारिदिन मात्र यो धर्तिमा जन्मिएकी हो ?
२ एउटा अपराधी पुरुषले अपराध गर्नु पुर्ब आफ्ना आमा, दिदिबहिन, छोरी आदि सम्झिन्छ कि सम्झिदैन ?
३ भनिन्छ पुरुषमा भन्दा महिलामा बढी यौन चाहना हुन्छ । येदि त्यसो भए छोरी मान्छेले पनि दिनदाहादै पुरुषलाई जताततै आफ्नो प्याश मेटाउन किन जबर्जस्ती गर्दैनन् ?
४ महिलाहरुले आफुलाइ सम्यमित अनि धर्यशिल राखेका छ्न भने पुरुषले मात्र आफ्नो हैकम कायम गर्दै मैमत्त हुन कुन कानुनले छुट दिएको छ ?
५ एउटा अपराधी पुरुषले अपराध गर्नुपुर्ब म कुनै न कुनै दिन कानुन को फन्दामा पर्छु भन्ने सोच्छ कि सोच्दैन ?
यी र येस्ता कैयौं प्रश्न को जबाफ खोज्न सम्पुर्ण चेतनशिल पुरुष बर्ग लागुन । पुरुष बर्ग माथी लागेको कलन्कको दाग मेट्न गणतन्त्र नेपालका पथपर्दशकहरुको अन्तर्दृष्टि पुगोस् । नत्र दुर्गा, काली, देबि, माता आदिको उपमा दिँदै महिलाहरू माथी निरन्तर शोषण, उत्पीडन गरिरहन छुट दिने हो भने समाजका ब्वासाहरुको शिकार भएर छोरीचेलीले जीवन समाप्त गरिरहनु पर्छ ।

जुन आजको शब्य समाजको दुर्भाग्य हो । सृष्टिको अपमान हो र सम्पुर्ण नारी जाती माथिको धाबा हो । स्मरण रहोस् म पनि कुनै पुरुषकी छोरी, कसैकी दिदीबहिनी, कसैकी भान्जी र विभिन्न नातामा बधिएकी नारी हु । यो मेरो नितान्त निजि बिचार हो । मेरो उदेश्य सव्य र सुसंस्कृत महिला र पुरुषहरूले समाजको यो कलन्क हटाउन अन्तरात्माबाट लागिपरुन भन्ने मात्र हो ।

नेपालमा धेरै परिवर्तन भए । नेपाली राणकालीन समाज हुँदै आज लोकतान्त्रिक समाजको रूप लिएको छ । आम विश्वलाई हेर्ने हो भने पनि ठूलो परिवर्तनको फड्को सरिसकेको छ। वास्तवमा परिवर्तन यतिबेला मात्र भएको हुन्छ जतिबेला प्रत्यक्ष व्यवहारमा परिवर्तनको महसुस हुन्छ। कतिपय कुरामा परिवर्तनको महसुस गरिए होला तर कतिपय कुरा त्यो महसुस विल्कुलै गर्न सकिएको छैन।

हाम्रा समाजका परम्परागत संरचना र सोँचलाई त्यस्ता परिवर्तनले कुनै लखरपाटो लाउन सकेनन् भन्ने आभास भएको छ। यतिबेला विवेकशील भनिएको मानवबाट सञ्चालित छ हाम्रो समाज। तर पनि तिनै परम्परागत संरचना र सोचले राक्षसको शैलीमा यही समाजलाई खाइरहेका छन्। त्यसको एउटा ज्वलन्त उदाहरण हो महिला हिंसा तथा बलात्कार ।

महिला हिंसा समाजको एउटा त्यो रूप हो, जसले महिलाका सामान्यभन्दा सामान्य अधिकार पनि लुटिरहेको छ। त्यसैले यो एउटा जघन्य अपराध हो। आज हाम्रो समाजले चरम महिला हिंसाको नियति भोगिरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय महिला हिंसाकै विरुद्धमा सडकमा छन् यतिबेला। यो एउटा प्रत्यक्ष सरोकारको विषय बन्न पुगेको छ। कहालीलाग्दा महिला हिंसाका घटना जब दिनानुदिन बढ्दै गएका छन् ।

आजभोलिका सबै समाचार बुलेटिन तथा पत्रकारिता महिला हिंसाका घटनाले भरिएका छन्। यसले हाम्रो समाजमा कति असुरक्षित छन् भन्ने कुराको पुष्टि गरिहेको छ। महिला भएकै कारणले कतिबेला कहाँ कुन हिंसाको कालो कोठरीमा पुग्छु भन्ने कुराको सन्त्रासमा बाँचिरहेका छन् महिलाहरू। यस्ता घटना त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता घटना हाम्रो समाजमा हजारौं घरिरहेका छन्।

महिला अधिकारकर्मीका अनुसार जम्मा १० प्रतिशत यस्ता घटना बाहिर आउने गरेका छन्। बाँकी ९० प्रतिशत घटना घरपरिवारको दबाब, इज्जत र प्रतिष्ठामा आँच आउँछ भन्ने डर तथा चेतनाको अभाव आदिको कारणले बाहिर आउँदैनन्। यसरी हाम्रो समाजमा महिला हृयविदारक अवस्थामा बाँच्नु परिरहेको छ। उनीहरू राज्य प्रशासनबाटै सुरक्षित छैनन्। आफ्नै घर परिवारबाट सुरक्षित छैनन्। आफन्त भन्नेबाट नै सुरक्षित छैनन्, आफ्नो घर आँगन तथा छरछिमेकमा नै सुरक्षित छैनन्।

महिला मुक्तिको नारा दिएर दर्ता भएका नारी अधिकारवादी सङ्घसंस्था २ हजार पाँच सयको हाराहारीमा छन्। यसको अलवा महिला अधिकारको पक्षमा स्वयं राज्य प्रशासन छ। मानव अधिकारवादी छन्। राजनीतिक दल छन्। अन्तर्राष्ट्रिय सङ्घसंस्था छन् अनि समाजसेवी पनि छन्। के गरिरहेका थिए त यी सबैले जबकि महिला हिंसा चरम उत्कर्षमा पुगेको छ। जति परिणाममुखी पहल हुनुपथ्र्यो त्यो निश्चय पनि भएको छैन। आखिर धेरै थोरै पहल त भएकै हुन्। कति पहल अनौपचारिकतामा सीमित भए होला त कति कागजी रूपमा बन्धक भए।

महिलाका अधिकारका क्षेत्रमा चासोसहित काम गर्ने धेरैजना वा संस्था पनि बलात्कारका घटनापछि मात्रै तातिन्छन् । केही थान विज्ञप्ति, जुलुसमा सहभागी वा केही कोठेबहस नियमित हुने गरेका छन् । जसमा थोरैमात्रै बलात्कार विरुद्ध कसरी काम गर्ने भन्नेमा स्पष्ट छन् र निरन्तर काम गरिरहेका छन् । बाँकी धेरै त बलात्कृत भएपछि महिला वा किशोरीको सबै सकिएको अर्थमै बुझ्नेहरू छन्, जो बलात्कारका घटनामा मोटो रकम क्षतिपूर्तिका रूपमा माग गर्छन् ।

कुनै पनि महिलामाथि गरिएको बलात्कारको क्षतिपूर्ति भनेको के हो भन्ने बारेमा कसैले स्पष्ट पार्नसकेका छैनन् । बेला–बेला बलात्कारका घटनामा विरोध गर्ने यो समूह पनि महिलाको शरीरलाई हेर्ने पुरुषवादी सोचबाट माथि उठ्नसकेको छैन ।महिलामाथि हुने बलात्कारको मुख्य कारण महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पितृसत्तात्मक सोच हो । जुन व्यवहार विगतमा परम्पराका नाममा धर्मशास्त्रको आडमा गरिन्थ्यो भने अहिले धर्मशास्त्र र परम्पराको आधारमा नवउदारवादी अर्थतन्त्र र त्यसका जगमा उभिएका राजनीतिक–सामाजिक व्यवहारद्वारा गरिन्छ ।

नेपाल भारतजस्ता देशमा बलात्कारका अधिकांश घटना समाजमा बेइज्जती हुने डरले स्वयं पीडित र उनका परिवारले लुकाउने गर्छन् । तर बलात्कारका कतिपय घटनाहरू त यति विभत्स हुन्छन् कि सुन्दा पनि आङ जिरिंग हुन्छ, मुटु थर्र काप्छ । त्यसैले, केही प्रश्नहरू उठ्छन्, के हो बलात्कार ? किन हुन्छ, बलात्कार ? के बलात्कार ‘मानसिक रोग’ हो ? कसरी हुन सक्छ बलात्कारको रोकथाम ? यो निकै चिन्ताको विषय हो ।

महिला अधिकार सुरक्षित गर्न र महिला हिंसाजस्ता जघन्य अपराध रोक्न दीर्घकालीन उपाय के हुन सक्छन् त ? यो प्रश्नको जवाफ कुनै एउटा व्यक्ति, समाज वा संस्थाले मात्रै दिन सक्दैन। राज्यले अन्य निकायको तुलनामा अधिक भूमिका खेल्नु अनिवार्य छ तर राज्यले पनि सर्वपक्षीय सहयोगबिना केही गर्न सक्दैन। महिलाका समस्या सबैका साझा समस्या हुन् र यसको समाधान गर्न पनि समाजका सम्पूर्ण पक्षको सहकार्य जरूरी छ।

बलात्कारको कारण- बलात्कारका घटनाहरू आधुनिक युगका उपज होइनन् । आदि कालदेखि नै बलात्कारका घटना हरेक समाज र संस्कृतिमा घट्दै आएको देखिन्छ । तर प्राचीन समयमा भन्दा आधुनिक कालमा यस्ता घटनाहरू निकै बढ्दै गएका छन् । अतः बलात्कारका घटनाहरू यसरी बढ्नुका पछाडि स्वयं समाज पनि दोषी छ ।

अर्को कुरा हाम्रो जस्तो समाजले यस्ता घटनालाई लुकाउन नै ठीक ठान्छ । यसरी बलात्कारका घटनालाई लुकाउने प्रवृत्तिका कारण बलात्कारीको मनोबल बढ्ने गर्छ । सामान्यतयाः कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन उत्तेजना धेरै देखिन्छ । तर यौन उत्तेजना मेट्ने साधन प्राप्त हु“दैन । वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलात्कारको घटना घट्ने गर्छ ।

कारबाही- महिला हिंसाविरुद्धको कारबाही। महिला हिंसा गर्नेलाई हुने गरेको फितलो कारबाहीको कारण महिला हिंसाले प्रश्रय पाइरहेको छ। त्यसैले महिला हिंसा गर्ने जो कोहीलाई पनि यस्तो कारबाही हुनुपर्छ जुन कारबाहीको कारण अरु कसैले हिंसा गर्ने कुरा सोच्न पनि नसकोस्। जसको लागि राज्यले कानुनी प्रावधानलाई दोष दिनु हुँदैन।

हाम्रो कानुनमा कानुनी प्रक्रिया र व्यवस्थामा जटिलता र सीमितता रहेका छन्। त्यसैले सरकारले महिला कानुन बनाइ प्रभावकारी कार्यान्वयन गर्नु अनिवार्य छ। पुरुषको भूमिका। महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन्। जसरी सवारी साधन गन्तव्यमा पुर्‍याउन एउटा पाङ्ग्राले अर्को पाङ्ग्रालाई सहयोगीको भूमिका खेल्छ त्यसरी नै महिला हिंसा निर्मूलकरणमा पुरुषको भूमिकमा सहयोगी हुनु आवश्यक छ। जुन अहिलेको समाजा देखिने मौखिक सहानुभूति नभई, व्यवहारिक रूपमा रचनात्मक सहयोग गर्नुपर्दछ।

महिलाको लागि महिला। महिलाको समस्यामा महिला रमिते बनेर हैन कि भोलि मलाई पनि पर्छ भन्ने सोची महिला हिंसा रोक्न सहयोग गर्नुपर्दछ। तर महिलाको साझा समस्या महिला नै रमिते बनिदिने र कुरा काटेर समाजमा साँघुरो सोचाइ प्रदर्शन गरिदिँदा महिला हिंसाले प्रश्रय पाइरहेको छ।

समाजमा दिनप्रतिदिन बलात्कारका घटना बढिरहेका छन् । बलात्कारीलाई यो वा त्यो सजाय दिनुपर्छ भन्ने आवाज त उठेको छ तर बलात्कार न्यूनीकरणका उपाय के हुन् भनेर खासै चिन्ता प्रकट भएको पाइँदैन । समस्याको चुरो पहिल्याइएन भने हाँगा छिमलेरमात्रै समस्या समाधान हुँदैन तात्पर्य हो । बताइरहनु परेन, समाजमा यौन कुण्ठा व्याप्त छ ।

यौनलाई यति गोप्य बनाइएको छ कि प्रायःको दिमागमा कौतूहलताको भुंग्रो छ । दुनियाँमा महिलामात्रै यौनहिंसाको चपेटामा पर्दैनन् । अध्ययनले पुरुष पनि बलात्कारको सिकार हुने देखाएको छ । यत्ति हो त्यो संख्या महिलाको तुलनामा निकै कम छ । महिला यौनजन्य हिंसाको सिकार भए बाहिर आउँछ, पुरुषको हकमा ‘सामूहिक बलात्कार’ को सिकार भएमात्रै सार्वजनिक हुने हो त्यो ।

२०७५ भदौ ११ गते ६:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर