निर्मलाको हत्या बम दिदीबहिनीकै षड्यन्त्रमा : बाबु यज्ञराज
आजको खबर | प्रकाशित : २०७५ भदौ १२ गते १:१७

कञ्चनपुर । बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टी निवासी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सोमबार एक महिना बितेको छ ।
यसैबिच राष्ट्रिय मानव अधिकार परिषद्को टोलीलाई सोमबार निम्बुखेडास्थित घटनास्थल देखाइरहेको अवस्थामा भेटिएका निर्मलाका बुबा यज्ञराज पन्तले घटनाका दोषीलाई एक महीनासम्म कानूनी दायरामा ल्याउन नसक्नु प्रहरी प्रशासनको लाचारीपन भएको बताएका छन् ।
‘घटनाका पीडकलाई कानूनी दायरामा ल्याएमात्रै निर्मलाको आत्माले शान्ति पाउनेछ’, बुबा यज्ञराजले भने, ‘यहाँ अपराधी बचाउन धेरै षड्यन्त्र भइरहेका छन् ।’
उनले निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरलाई केन्द्र मानेर अनुसन्धान गर्न माग गरे । ‘निर्मला र रोशनी एउटै कक्षामा पढ्ने साथी हुन्’ उनले भने, ‘निर्मलालाई फकाएर बम दिदीबहिनीले षड्यन्त्र रचेँ ।’ निर्मलाको खोजीका लागि पुग्दा प्रहरीले बेवास्ता गरेको पनि उनले बताएका छन् ।
‘समयमै खोजी गरिदिन आग्रह गर्दा प्रहरीबाट बेवास्ता भयो’उनले भने, ‘न्याय नपाएसम्म लडिरहनेछु ।’ गत साउन १० गते साथी बमको घरबाट घर फर्किरहेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।