बिमस्टेक सुरक्षाको फ्रन्टलाईनमा सेना, १८ हजार सुरक्षाकर्मी खटिने

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते १:३१

काठमाडौ । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन लक्षित सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायबाट करिव १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले पहिलो पटक आयोजना गर्ने यो सम्मेलनलाई मध्यनजर गर्दै सरकारले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट जनशक्ति परिचालन गर्दैछ । सम्मेलनस्थल होटल सोल्टीमा अहिले सेनाको कमान्डमा सुरक्षाकर्मी परिचालन भइसकेका छन भने राजधानी उपत्यकाको सुरक्षा ब्यवस्था सोमबार बिहानबाट कडा बनाइएको छ ।

नेपाल–भारत खुल्ला सिमानाका कारण सुरक्षामा असहजता नआओस भन्ने हेतुले नेपाल भित्रिने मुख्य नाकामा समेत सुरक्षा निगरानी बढाइएको छ । सम्मेलन सुरक्षाको ‘फ्रन्ट लाइन’मा सेना खटिदैछ भने सबै सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखको सुरक्षा जिम्मेवारी समेत सम्हाल्दैछ । सुरक्षाको दोस्रो र तेस्रो घेरामा क्रमशः नेपाल प्रहरी, सशस्त्र र अनुसन्धानको टोली परिचालन हुँदैछ ।

आवश्यकता अनुसार सेना सम्मेलन सुरक्षार्थ खटिएको बताउँदै सैनिक प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले भने– ‘यस अघिका अन्तर्राष्ट्रिय सभा सम्मेलनको प्रमुख सुरक्षा नेपाली सेनाले गरेको थियो, यसपटक पनि विशिष्ट पाहुनाको मुख्य सुरक्षा सेनाले गर्दैछ ।’ विमस्टेकका लागि सेना कति खट्दैछ भन्ने संख्या यकिन नभएपनि करिव ५ हजारका हाराहारीमा सैनिक परिचालन हुने सैनिक मुख्यालयले जनाएको छ ।

विमस्टककै लागि नेपाल प्रहरीबाट करिव ९ हजार, सशस्त्र बलका ३ हजार ५ सय र राष्ट्रिय अनुसन्धान बिभागका ५ सय भन्दा बढी सुरक्षा अधिकारी खटिने गृह मन्त्रालय स्रोतले जनाएको छ । सम्मेलनलाई लक्षित गर्दै गृह मन्त्रीको संयोजकत्वमा सुरक्षा परिवहन तथा यातायात समिति गठन भएकाले गृहले सुरक्षा र सवारीको प्रबन्ध गरिरहेको छ ।

सम्मेलनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बिमानस्थल हुँदै ओहोर–दोहोर गर्ने यात्रुहरुको निगरानी पनि बढाइएको छ । बिमानस्थलमा अनावश्यक भिडभाड नहोस भन्ने अभिप्रायले बिमानस्थल प्रवेश गर्ने मुख्य गेटबाटै यात्रुलाई मात्र बिमानस्थल प्रवेश गर्न दिइएको बिमानस्थल कार्यालयले जानकारी दिएको छ । कुनै व्यक्ति वा समुह माथि शंका लागेमा तत्कालै नियन्त्रणमा लिएर सोधपुछ गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकृतहरुलाई निर्देशन दिएको छ ।

सम्मेलनमा आफ्नो मुलुकको नेतृत्व गदै आउने म्यानमारका राष्ट्र प्रमुख विन मिन्ट र श्रीलंकाकी राष्ट्रपति मैथ्रीपाला सिरिसेना सहित अन्य पाहुनाले बुद्धको जन्मस्थल लुम्विनीको समेत भ्रमण गर्ने निधो भएपछि सो क्षेत्रको सुरक्षाको निगरानी बढाइएको छ । लुम्बिनीको सुरक्षाका लागि प्रदेश नं ५का सबै सुरक्षा निकायका प्रमुखले केन्द्रको समन्वयमा सुरक्षा सर्ततकता बढाएका छन् ।
–नेपाल समाचारपत्र

२०७५ भदौ १२ गते १:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर