प्रधानमन्त्री ओली र गगन थापाको घोचपेचमा टेबुल ठोक्ने होड (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते १२:४३

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद गगन थापाबीच रोचक सवालजवाफ चलेको छ । पछिल्ला दिन प्रधानमन्त्री ओली र थापाबीच यस्ता चर्काचार्की संदमा खुबै देख्न र सुन्न पाइन्छ ।

सोझै विषय प्रवेश गरेर चोटिलो प्रश्न र टिप्पणी गर्ने गगनलाई प्रधानमन्त्री ओलीले ठट्टा र व्यंग्या मिसाएर जवाफ दिने गर्छन् । गगनको प्रश्नमा विपक्षीले टेवुल ठोक्छन् भने प्रधानमन्त्रीको जवाफमा सत्ता पक्षका सांसदले टेवल ठटाउँदा संसद हल गुञ्जायमान हुन्छ । बाँकी सांसदहरूलाई र दर्शकका लागि यो दृश्य रोचक र भरपूर मनोरञ्जन दिने खालको हुन्छ ।

आजको संसद त्यस्तै उत्तेजक र मनोरञ्जनपूर्ण बन्यो ।

प्रधानमन्त्री ओलीले संविधान जारी भएयता कांग्रेस सरकारमा रहेको र उसले पटक्कै काम नगरेको कारण अहिलेको सरकारलाई भार थपिएर आफूले दुःख पाउनु परेको बताएका थिए ।

गगन थापाले समय लिएर प्रधानमन्त्रीसँग प्रतिउत्तर मागे गरे –‘प्रधानमन्त्रीज्यूलाई जानकारी गराउँदै सोध्न चाहन्छु, संविधान जारी भएपछिको ७५ प्रतिशत समय सरकार कसले चलायो ? सम्माननीय प्रधानमन्त्रीज्यू र तपाँइको जहाजका को–पाइलट (प्रचण्ड) ले सरकार चलाउनुभएको समय जोड्दा ७५ प्रतिशत पुग्छ । त्यो ७५ प्रतिशत समयमा काम गर्न नसकेको जिम्मा लिन सम्माननीय प्रधानमन्त्रीज्यू तयार हुनुहुन्छ ?’

फेरी प्रधानमन्त्री जवाफ दिन रोष्टममा उभिए र गगनलाई जवाफ फर्काउँदै सोधे-‘क्याल्कुलेटर नै बोक्नुभा’छ कि के हो ? ७५ पर्सेन्टको कुरा गर्नुभयो, पर्सेन्टेज एक्ज्याक्ट्ली कति हुन्छ ? दशमलवपछिको हिसाब गर्नुभएन कि ?’

ठट्टा शैलीमै प्रधानमन्त्रीले अन्तिममा रिस पनि पोखे- ‘सांसदहरूको असभ्य भाषा सुनेर मलाई लाज लाग्छ ।’

सत्ता पक्षका सांसदले लगातार टेबुल ठोकिरहे, प्रधानमन्त्री रोष्टमबाट विदा भए ।

हेर्नुस् यो रोचक दृश्यः

२०७५ भदौ १२ गते १२:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर