वैदेशिक रोजगारको पीडा : डुबेको ८० हजार उठाउन थप ३० हजार खर्च

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते १४:१४

निर्मला घिमिरे

काठमाडौं। दोलखा घरभई वैदेशिक रोजगारको शीलशीलामा दुबई जाने तयारीमा रहेका विदुर बुढाथोकीले आफ्नो डुबेको ८० हजार उठाउन थप ३० हजार रुपैयाँ खर्च गरिसकेका छन्। दुबई जानको लागि उनले १७ महिना अगाडि सुनेरा नेपाल मेनपावर कम्पनीमा ८० हजार बुझाएका थिए।

मेनपावर कम्पनीले उनलाई ‘तपाइँको भिसा चाँडै आउँछ’ भन्दै पटक पटक झुक्याएको र लामो समयसम्म पनि भिसा नआएपछि उनले सुनेरा नेपाल कम्पनी विरुद्ध यही साउन १६ गते वैदेशिक रोजगार विभाग बुद्धनगरको उजुरी शाखामा ठगीको मुद्दा दर्ता गराएका थिए। कम्पनीले ठगेको विरुद्ध उजुरी दिएको महिना दिन हुन लागि सक्दा पनि उनले अझै आफ्नो ठगीएको रकम हात पार्न सकेका छैनन्।

विभागले उनलाई पटक पटक कार्यालयमा उपस्थितको लागि बोलाउने गरेकोले उनी हाल काठमाडौं नै बस्नुपर्ने बाध्यता छ। जसले गर्दा उनको खर्च थप बढेको छ। काठमाडौंमा खान, बस्न, गाडी भाडा गर्दा डुबेको पैसा उठाउन नै डुबेको रकम जति नै लाग्ने सम्भावना रहेको उनले बताए।

भदौ ७ गतेदेखि उनी लगातार वैदेशिक रोजगार विभाग बुद्धनगरमा धाइरहेका छन्। तर आजसम्म पनि उनको डुबेको पैसा कम्पनीले फिर्ता गर्ने कुनै छाँटकाँट छैन। भोलि भोलि भन्दै कम्पनीले उनको पैसा फिर्ता गर्न अटेर गरिरहेको छ। विभागले मेनपावर कम्पनीलाई पनि उनको पैसा फिर्ता गर्न निर्देशन दिइसकेको छ। तर कम्पनीले चासो नदिएको पीडित बुढाथोकीले बताए।

आजसम्म पनि उनको पैसा फिर्ता दिन अटेर गरेपछि विदुरले सुनेरा नेपाल कम्मनीको काम रोक्का गर्न विभागमा रिट दायर गरेका छन्। पीडित विदुर बुढाथोकी भन्छन्, ‘मेनपावर कम्पनीमा जाँदा तपाइँको भिसा आइहाल्छ भनेर झुलाउँछ फोन गर्दा फोन उठाएको छैन।’ विदुरले ८० हजार पनि दुबई जानका लागि साहुसँग ऋण लिएका हुन्।

विदेश गएर परिश्रम गरी साहुको ऋण तिर्ने र दुख सुख जीविका चलाउने सपना बोकेका उनको सपना चकनाचुर भएको छ। पैसा त ठगियो पैसा सँगसँगै उनको डेढ वर्षको समयपनि मेनपावर कम्पनी र विभाग धाउँदैमा गुज्रिरहेकोे छ। वैदेशिक रोजगारको नाममा युवाहरुलाई ठग्ने धेरै कम्पनीलाई विभागले रोक्का गर्दै आएपनि ठगीको काम अझै जस्ताको तस्तै छ। विदुर बुढाथोकी ठगिने मध्ये एउटा उदाहरण मात्रै हुन्। उनी जस्ता हजारौँको सङ्ख्यामा युवाहरु ठगिएका छन्।

२०७५ भदौ १२ गते १४:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर