एक वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्छ : राष्ट्र बैंक
आजको खबर | प्रकाशित : २०७५ भदौ १३ गते १६:१६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढदै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेका हुन्।
बुधबार काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पु-याउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाएको पनि स्पष्ट पारे।
गभर्नर नेपालले मुलुकमा प्रतिफल आउने वातावरण सुनिश्चित भएको उल्लेख गर्दै लगानी बढाउन पनि निजी क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे। उनले व्यापार घाटा मुलुकको मुख्य चुनौति रहेको उल्लेख गर्दै त्यसलाई घटाउन पनि उद्योगी, व्यापारीहरुले सक्दो पहल गर्नुपर्नेमा पनि जोड दिनु भयो । हाल नेपालको व्यापार घाटा ११ सय ६१ अरव पुगेको छ।
सो व्यापार घाटालाई कम गर्दैै लैजाने वातावरण पनि नेपालमा बनेको गभर्नर नेपालको तर्क छ। नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर अघि बढाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन पनि बैक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउँदै आएको छ।