एशियाकप छनोट : मलेसियासँग नेपाल १९ रनले बिजयी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १६ गते १०:४१

काठमाडौं। एशियाकप छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल १९ रनले विजयी भएको छ । नेपालले दिएको १८९ रनको लक्ष्य पच्छ्याइरहेको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रनमात्र बनाउन सक्यो । नेपालका लागि बसन्त रेग्मीले ३, सन्दिप लमिछाने र सोमपाल कामीले समान २ तथा सागर पुन र दिपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

क्वालालम्पुरको बायुमास ओभसमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले वर्षाका कारण ३० ओभरमा घटाइएको खेलमा ७ विकेटको क्षतिमा १८८ रन बनाएको थियो । सुरुवाती ओभरमै मुख्य विकेट गुमाएको नेपालको इनिङ सुरुमा निकै कमजोर थियो । नेपालले ६० रनको स्कोरमै मुख्य ५ विकेट गुमाइसकेको थियो । तर पारस खड्का आउट भएपछि पाँचौं क्रममा ब्याटिङ गर्न आएका दिपेन्द्रसिंह ऐरी र सागर पुन आउट भएपछि सातौं क्रममा ब्याटिङ गर्न आएका आरिफ शेखले नेपालको इनिङ सम्हाले । यी दुईको १०१ रनको साझेदारीले नेपालको इनिङलाई बलियो बनायो ।

अनिल शाह (१६), सुवास खकुरेल (९), ज्ञानेन्द्र मल्ल (११) पारस खड्का (१३) र सागर पुन (०) लाई सस्तैमा गुमाएको नेपालको लागि दिपेन्द्रले ५१ बलमा ५४ रन र आरिफले ४८ बलमा ६४ रनको नटआउट इनिङ खेले । सोमपाल कामी शुन्यमै आउट हुँदा बसन्त रेग्मीले नटआउट ७ रन बनाए । मलेसियाले सुरुवात निकै आक्रामक गरेको थियो । तर, निरन्तर विकेट झर्दै जाँदा उसले आक्रामकतालाई निरन्तरता दिन भने सकेन ।

२०७५ भदौ १६ गते १०:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर