उमा महेश्वरसहित दुबोको पूजा गरेर टुँडिखेलमा यसरी मनाईयो गौरा पर्व

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १३:०७

काठमाडौँ। उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले सोमबार गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ।

यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्ति ऋषिको उदय हुने भएकाले कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र बताए। “यस वर्ष अगस्ति ऋषिको उदय भदौ १९ गते मङ्गलबार नवमी तिथिका दिन बिहान ४ बजेर ६ मिनेटमा हुने भएकाले भाद्र शुक्ल अष्टमीका दिनमा गौरापर्व मनाउन मिल्दैन, यसैले भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्छ”, भने।

मध्य रातमा कृष्ण पक्षको अष्टमी तिथि रहेका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ। गौरा एवं दुर्वाष्टमी पर्व भने सूर्योदयकालमा अष्टमी तिथि रहेका दिन मनाउनुपर्छ। सोमबार दिउँसा ३ बजेर ३१ मिनेटसम्म अष्टमी तिथि रहेको समितिले जनाएको छ।

कञ्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने ‘मानसखण्ड’, ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’लगायत ग्रन्थमा उल्लेख गरिएको छ। गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन्।

राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ। यो पर्व विशेष गरेर राजधानीको टुँडिखेलमा मनाइने गरिन्छ। सो अवसरमा आज टुँडिखेलमा यस पर्वलाई मनाउने सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसहरुको बाक्लो उपस्थिती रहेको छ।
तस्विर : आर्यन धिमाल (डिसी नेपाल डटकम)

२०७५ भदौ १८ गते १३:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर