तीजको दर : बिरामीको सङ्ख्या ३७९ पुग्यो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते १३:३२

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका-१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको अहिले अस्पताल भर्ना गरी उपचार भइरहेको जनाएको छ । बाँकी उपचार गरी घर फर्किसकेको खड्काले जानकारी दिए।

बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ को उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालका डा अनमोल श्रेष्ठले जानकारी दिए। पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार आयोजना गरिएको तीज विशेष दर खाने कार्यक्रममा दर खाने क्रममा सो घटना भएको हो।

बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेका ५६ मध्ये दुई जनाको सघनउपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा एञ्जला बस्नेतले बताए। उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीमा झाडा पखाला, पेट दुख्ने, रिङ्गटा लाग्ने र बान्ता गर्ने जस्ता समस्या देखिएको छ।

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौँमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ। बनेपा अस्पतालमा उपचार भइरहेका तीनको अवस्था सामान्य रहेको जनाएको छ।

शनिबार दिउँसो दर खाने कार्यक्रममा बिरामी भएकाहरूको सङ्ख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए।

उनका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोली तथा प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य अधिकृतलगायत नेतृत्वको टोलीले घटनास्थलमा पुगेर बिरामीले खाएका खाना तथा पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा लगेको छ।” राउतले भने, “अहिले अस्पतालमा उपचाररत बिरामीको अवस्था सामान्य छ।”

२०७५ भदौ २३ गते १३:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर