भारतीय नेताहरुले नेपालको समृद्धि र विकास चाहेका छन् – प्रचण्ड

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते ११:३८

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्।

अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटवार्ता गरी आइतबार स्वदेश फर्किएका हुन्। उनले त्यस क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफ्नो भारत भ्रमण सफल रहेको दावी गरे । भारतसँग विगतमा गरिएको सहमति कार्यान्वयनका लागि आवश्यक वातावरण बनाउन आफूले गरेको भ्रमण सफल रहेको अध्यक्ष दाहालको भनाइ थियो।

अध्यक्ष दाहालले भारत बसाइका क्रममा प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए। भेटमा भारतीय नेताहरुले नेपालको समृद्धि र विकास चाहेको आफू पाएको पनि अध्यक्ष दाहालले जनाए।
अध्यक्ष दाहालले नेपालमा बलियो सरकार बनेकोमा भारतीय नेतृत्व खुसी रहेको अनुभूति सुनाए।

एक अर्को प्रसंगमा अध्यक्ष दाहालले मन्त्रिमण्डल हेरफेरको विषय प्रधानमन्त्री केपी ओलीले भने अनुसार नै हुने पनि बताए। प्रधानमन्त्री ओलीले ‘मन्त्रीमण्डल हेरफेर नगर्ने’ भनि दिएको अभिव्यक्तिबारे संचारकर्मीहरुले जिज्ञासा राखेपछि उनले प्रधानमन्त्रीको भनाइ अनुसार नै मन्त्रिमण्डल हेरफेरको विषय अघि बढने प्रतिक्रिया दिए।

अध्यक्ष दाहालले वृद्ध भत्ता नबढाएकोमा जनगुनासो बढदै गएपछि आफूले त्यसलाई व्यवस्था गर्न पुरक बजेटको कुरा प्रधानमन्त्री ओलीसँगै उठाएको बताए।

उनले संविधान, कानुन र राजनीतिक रुपमा पनि जनताको गुनासोलाई सम्बोधन गर्न सरकारले आवश्यक महसुस गरे पूरक बजेटमार्फत वृद्ध भत्ता बढाउने निर्णय लिन सक्ने पनि स्मरण गराए। चार दिनको भारत बसाईपछि अध्यक्ष दाहाल आगामी असोज १ गते चीन भ्रमणमा जाँदै छन्। उनले दुवै देशसँग विगतमा गरिएका सहमति कार्यान्वयनको वातावरण बनाउन आफूले दुवै देशको भ्रमण गर्न चाहेको स्पष्टिकरण दिँदै आएका छन्।

२०७५ भदौ २४ गते ११:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर