संविधानको मर्मअनुरुप गोपनीयताको कानून बनाउनुपर्नेमा जोड

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १५:२३

काठमाडौँ । संविधानको मूल मर्मअनुरुप गोपनीयता हकसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरु दिलेन्द्र बडू, शेरबहादुर तामाङ, नवराज सिलवाल, प्रेम सुवाल र कृष्णभक्त पोखरेलले संविधानको मूल मर्मअनुसार गोपनीयताको हकसम्बन्धी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन।

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा २८ लाई कार्यान्वयन गर्न तीन वर्षभित्र कानून बनाएर लागू गर्नुपर्ने व्यवस्थाअनुरुप गोपनीयताको हक कार्यान्वयन गर्न ऐन बनाउन लागिएको हो। सो ऐनलाई अन्तिम रुप दिनका लागि सो समितिमा दफावार छलफल भइरहेको छ।

गोपनीयताको हकमा कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पति, लिखत तथ्याङ्क, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानूनबमोजिम बाहेक अनतिक्रम्य हुनेछ भनी व्यवस्था गरिएको छ । सोही मर्मलाई ध्यान दिएर कानून निर्माण गर्नका लागि समितिमा दफावार छलफल शुरु भएको हो।

कानून आयोगका अध्यक्ष माधव पौडेलले राज्यको नागरिकको गोपनीयताको हकको संरक्षण गर्नका लागि निर्माण हुन लागेको कानून भएको उल्लेख गर्दै सामान्य नागरिक र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि पनि यो हक लागू हुने धारणा राखे।

समितिमा गोपनीयताका विषयमा नागरिकको राहदानी, धर्म, सम्पति, रगत समूहजस्ता विषयमा गोपनीयता हुने कि नहुने भन्ने विषयमा छलफल जारी छ । सोमबार पुनः दिउँसो १ बजे बैठक बसी दफावार छलफल हुनेछ। समितिका सभापति मीना पाण्डेले प्रत्येक दफा दफामा छलफल गर्नु जरुरी भएको हुँदा सोमबार पुनः बैठक बसी दफावार छलफल हुने जानकारी दिए ।

नेपाल कानून आयोगले तयार गरेको विधेयकको नमूना दुई महिना अघि नै गत असार २४ गते सार्वजनिक गरेको थियो। अहिलेसम्म गोपनीयतासम्बन्धी कानून थिएन । पहिलो पटक नेपालमा गोपनीयतासम्बन्धी ऐन बन्न लागेको हो।

२०७५ भदौ २४ गते १५:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर