फोहोर ब्यवस्थापनमा के गर्दैछ महानगरपालिका ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते ५:१६

निर्मला घिमिरे

काठमाडौं। चुनाव अघि महानगरलाई सुन्दर, सफा, स्वच्छ र हराबरा बनाउने नारा राजनीतिक दलका नेताहरुले लगाएका थिए। काठमाडौंलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने, मोनो रेल बनाउनेलगायतका आकर्षक नारा दलहरुले दिएका थिए। त्यही नारा लगाउने दलका उम्मेद्वारले चुनाव जितेका छन्। उनीहरुले दिएको नारा व्यवहारमा उतार्न सकेका छैनन्। बरु काठमाडौंमा समस्याका चाङ झन् बढेका छन्। राजधानीको सडकको अवस्था व्याख्या गरी साध्य छैन।

अहिले राजधानीको फोहोर नियमित उठ्नसमेत छोडेको छ। काठमाडौंमा संकलन हुने फोहोरलाई ढुवानी गर्ने क्षमता कम भएका कारण राजधानीको फोहोर व्यवस्थापनामा समस्या भएको महानगरले जवाफ दिने गरेको छ।

उपत्यकामा दैनिक ५ सय मट्रिकटन फोहोर संकलन हुने भएपनि १ सय मेट्रिकटन फोहोरमात्र ढुवानी गर्न सक्ने क्षमता महानगरपालिकासँग भएकोले फोहोर व्यबस्थापनमा समस्या भएको महानगरको भनाइ छ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रशासन महाशाखा प्रमुख युवराज खनालले उपत्यकामा अत्याधिक फोहोर संकलन हुने तर महानगरपालिकासँग फोहोर व्यवस्थापन गर्न प्रयाप्त ढुवानी सेवा नभएकोले फोहोर व्यबस्थापनमा थप कठिनाइ भइरहेको जनाए।

उनले यस भन्दा अगाडि वर्षातको कारण फोहोर व्यबस्थापनमा थप समस्या परेको र अव फोहोर व्यबस्थापन कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने बताए।

महानगरपालिकाले उपत्यकाको १८ वटा नगरपालिकाको फोहोर संकलन र व्यबस्थापन गर्दै आएको छ । सार्वजनिक र निजीस्तरको फोहोर व्यबस्थापन गर्ने एउटै ठाउँ नुवाकोट ओखरपौवा सिसडोलमो छ। सरकारले नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापनकालागि लागि ३ वर्षको समयकालागि सम्झौता गरेको थियो।

तर फोहोर फाल्न लागेको सम्झौताको अबधि भन्दा बढी भइसकेको छ। सिसडोलमा अब फोहोर फाल्ने ठाउँ समेत भरिइसकेको छ। तर सरकारले यसको लागि अहिलेसम्म कुनै विकल्पको व्यवस्था गर्न सकेको छैन।

महानगरपालिकाले सार्वजनिक स्थलबाट संकलित फोहोरलाई वातावरण व्यबस्थापन विभागको टेकु ट्रान्सफर स्टेशनमा संकलन गर्ने र त्याहाबाट नुवाकोट ओखरपौवा सिसडोल लैजाने गरेको छ भने निजी तवरबाट संकलित फोहोर सिधै सिसडोल लैजाने गरिएको छ ।

फोहोर दैनिक रुपमा अत्याधिक मात्रामा संकलन हुने हँुदा ट्रान्सफर स्टेशन टेकुमा फोहोरको डंगुर चुलिएको छ। यसभन्दा अगाडि महिनौंसम्म फोहेरको व्यबस्थापन हुन नसक्दा उपत्यकाको सडक, चोक तथा गल्लिहरुमा जताततै फोहोर थुप्रिएको थियो।

२०७५ भदौ २५ गते ५:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर