वैदेशिक रोजगारीको नाममा एक महिनामा ११ करोड भन्दाबढी ठगी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते ९:२६

निर्मला घिमिरे

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा एक महिनामा मात्रै ११ करोडको ठगी भएको छ। साउन एक महिनाको अवधिमा मात्रै ११ करोड भन्दा बढी रकम ठगी भएको दावी उजुरी वैदेशिक रोजगार विभागमा परेको छ। व्यक्तिगततर्फ परेका ८८ वटा र मेनपावर कम्पनीतर्फ परेका १ सय १५ उजुरीमा ११ करोड रकम बरावरको रकम ठगी भएको दावी सहित उजुरी विभागमा परेको हो।

विभागको तथ्यांक अनुसार व्यक्तिगत ठगीको ८८ वटा उजुरीमा ५ करोड ८१ लाख ३१ हजार रुपैयाँ र संस्थागत ठगीतर्फ ५ करोड ८४ लाख ४१ हजार ४ सय रुपैयाँको विगोदाबी सहितका उजुरी परेका छन्। एक महिनाको अवधिमा विभागले १५ वटा उजुरीलाई फरफारक (मुद्दा मेलमिलाप मार्फत टुंग्याएको) गरेको छ। र, संस्थागततर्फका ६८ वटा उजुरी फाराफारबाट मिलाएको विभागले जनाएको छ।

व्यक्तिगत ठगीको ८८ वटा उजुरीमा ५ करोड ८१ लाख ३१ हजार रुपैयाँ र संस्थागत ठगीतर्फ ५ करोड ८४ लाख ४१ हजार ४ सय रुपैयाँको विगोदाबी सहितका उजुरी

विभागका निर्देशक उद्धवप्रसाद रिजालले ठगीका नाममा एउटा काम भनेर अर्को काम लगाउने, आवश्यक भन्दा बढी रकम असुल्ने, विकसित मुलुकमा पठाइदिन्छु भनेर ठगी गर्ने, विदेश पठाइदिन्छु भनि रकम र राहदानी लामो समयसम्म नदिने जस्ता ठगीका मुद्दाहरु बढी आउने गरेको बताए। निर्देशक रिजालले ठगी गर्ने व्यक्ति वा संस्थालाई विभागले कारवाही गरी पीडित पक्षलाई राहत दिँदै आएको जानकारी दिए।

विभागमा मेनपावर कम्पनी र व्यक्तिगत तवरबाट ठगीएका मुद्दा दैनिक रुपमा धेरै नै आउने गरेका छन्। कति उजुरी बिना प्रमाणका हुने हुदाँ त्यस्ता उजुरी हेरी दोषीलाई कारबाही गर्न समेत नसक्ने अवस्था सिर्जना हुने विभागले जनाएको छ। विभागमा धेरै उजुरी मेनपावर कम्पनीले बढी रकम ठगेका, एउटा काममा लगाइदिन्छु भनेर अर्को काममा लगाइदिएका, कामदारबाट पहिले नै पैसा असुलेर पासपोर्ट नदिने समयमा काममा नपठाउने र त्यसबीचमा कुनैपनि कामदारले नजाने विचार इच्छा गरेमा समेत सबै कागजात फिर्ता नदिने दुख दिने जस्ता उजुरी आउने विभागले बताएको छ।

वैदेशिक रोजगारका क्रममा हुने यस्ता ठगीहरु बढ्दै गएका छन्। विभागले वैदेशिक रोजगारका नाममा हुने व्यक्तिगत तथा संस्थागत ठगीलाई रोक्न निरन्तर प्रयास गर्दै आए पनि यस्ता ठगी दिनानुदिन बढ्दै गएको विभागको तथ्यांकले नै देखाएको छ। यसरी ठगी दिनानु दिन बढ्दै गएपछि विभागले उपर्युक्त समस्याको निराकरण गरी सुरक्षित वैदेशिक रोजगारको वातावरण सिर्जना गर्ने सम्बन्धमा धेरै कार्य गरेको भएता पनि विकृतिमा अझै सोचेजस्तो सुधार नआएको विभागले जनाएको छ। यसले गर्दा वैदेशिक रोजगारसँग सम्बन्धित अवान्छित कार्यलाई विशेष कडाइका साथ अनुगमन गरी कानुनी दायरामा ल्याउने समेत विभागले जनाएको छ।

२०७५ भदौ २५ गते ९:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर