नवनियुक्त प्रधानन्यायाधीश मिश्रद्वारा पदबहाली

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते ०:३२

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन् ।

पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम समयमा न्यायालयमाथि जनविश्वास बढाउने, सूचनामैत्री न्यायालय बनाउने, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारवाहीको दायरामा ल्याउनेलगायतका प्रतिबद्धता व्यक्त गरे। सर्वोच्च अदालत परिसरमा सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार जोशीले उनलाई फूलमाला लगाएर प्रधानन्यायाधीशका रुपमा स्वागत गरेका थिए।

संसदीय सुनुवाइ समितिले जोशीको नाम अनुमोदन गर्न अस्वीकृत भएपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मिश्रको नाम सिफारिश गरेको थियो । समितिले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि जोशी बिदामा बसेका थिए । तर आज नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न जोशी अदालतमा पुगेका थिए।

संवैधानिक परिषद्को सिफारिशमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा नाम सिफारिश गरेको थियो ।

रुपन्देही जिल्ला रायपुरमा २०१० पुस २८ गते बाबु महेशदत्त र अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मनुभएका ओमप्रकाश मिश्रले २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका हुन् । गत साउन २० गतेदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम शुरु गर्नुभएका मिश्रले आजदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त गरेका छन् ।

प्रधानन्यायाधीशका रुपमा मिश्रले पाँच महीना काम गर्नु हुनेछ । आगामी पुस १८ गते सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण उनले अवकाश लिनेछन् ।

२०७५ भदौ २६ गते ०:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर