इन्टरपोल मार्फत धमाधम पक्राउ पर्न थाले अपराधी, प्रहरी सक्रिय हुँदा देशबाहिर लुक्न सकस

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २८ गते १५:३३

काठमाडौँ । मानव बेचबिखन मुद्दामा फरार रहेका दम्पत्ति मीना लामा र श्यामकुमार लामा इन्टरपोल कुवेतको समन्वयमा पक्राउ परेका छन्। त्यसैगरी एक वर्षअघि बर्दिबासको होटलमा युवतीलाई जबरजस्ती करणी गरी विदेश फरार भएका सिन्धुली मरिण गाउँपालिकाका ३१ वर्षीय सिंहलाल थिङ इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ परेका छन्।

वैदेशिक रोजगार कसुरमा इन्टरपोल काठमाडौंबाट डिफ्युजन जारी भएका झापा घैलाडुब्बाका ३७ वर्षीय सोमनाथ निरौला इन्टरपोलकै समन्वयमा चीनबाट नेपाल आउनेक्रममा पक्राउ परेका छन्। नेपालमा अपराध गरी विदेशमा फरार हुने तथा विदेशमा अपराध गरी नेपाल आई लुक्ने लामा दम्पत्ति, थिङ, निरौला इन्टरपोलको समन्वयमा पक्राउ पर्ने प्रतिनिधि पात्र मात्र हुन्।

जघन्य र ठुला अपराध गरी देश बाहिर फरार भएकाहरूलाई नेपाल प्रहरीले इन्टरपोल मार्फत नोटिस जारी गर्ने सक्रियता बढाएपछि अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका हुन्।

हालसम्म जारी गरिएकामध्ये २९ वटा ‘रेड’ नोटिस र २४ वटा ‘डिफ्युजन’ गरी जम्मा ५३ वटा नोटिसहरू कार्यान्वयनको क्रममा छन्। अपराधी पक्राउसँगै पूर्व जारी नोटिस र डिफ्युजन स्वत निष्क्रिय हुन्छन्। इन्टरपोलमार्फत नेपाल प्रहरीले पछिल्लो चार महिनाको छोटो अवधिमा १४ जनाको नाममा ‘रेड’ नोटिस र ११ जनाको नाममा ‘डिफ्युजन’ जारी गरेको छ।

विगतमा न्यून संख्यामा मात्र यस्ता नोटिस जारी हुने गरेकोमा नोटिस जारी हुने क्रमको वृद्धिसँगै पक्राउ पर्ने अपराधीको संख्या बढेको छ। इन्टरपोल नोटिसको आधारमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन्।

देश बाहिर फरार अभियुक्त पक्राउ गर्न इन्टरपोल एनसिबी काठमाडौं मार्फत नेपाल प्रहरीको सक्रियता, चुनौती र उपलब्धीबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शैलेश थापा क्षेत्री भन्छन्, ‘इन्टरपोलका सदस्य राष्ट्रबीच एकप्रकारको सञ्जाल हुन्छ।

त्यो सञ्जालमा आवद्ध भई जघन्य अपराधका नेपाल भन्दा बाहिर फरार अभियुक्तहरूलाई रेड नोटिस र डिफ्युजन आदेशको आधारमा नेपाल प्रहरीले पक्राउ गरी नेपाल ल्याउने प्रयास विगतमाझैं गरिरहेको छ । यस काममा पछिल्लो ४ महिनामा हामीले धेरै प्रगति गरेका छौं, जुन तथ्याङ्कले पनि देखाएको छ।’

२०७५ भदौ २८ गते १५:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर