कालीगण्डकी नदीमा बाढी : जलजलाका दुई सय घर उच्च जोखिममा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २९ गते १०:१६

पर्वत । कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन्।

गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय, बगरफाँटका ५० र वडा नं ७ को मिलनचोक र वडा नं ८ को खनियाघाटलगायतका बस्तीका दुई सय घर उच्च जोखिममा परेका हुन्।

म्याग्दी र र मुस्ताङको उपल्लो क्षेत्रमा परेको वर्षाका कारण गत बुधबारदेखि आएको बाढीका कारण कालीगण्डकी किनारतर्फका बस्ती जोखिममा परेका हुन्। नदी किनारमा रहेका घर उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिए। उनका अनुसार वर्षा नरोकिएकाले कालीगण्डकीको बहाब नघट्दा कटान रोकिएको छैन।

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार बजार संरक्षणका लागि बनाइएको पक्की पर्खाल र तटबन्धसमेत भत्किएकाले बजार क्षेत्रतर्फको कटान बढ्दै गएको छ। अहिलेसम्म स्थानीय आमा समूहको सामुदायिक भवनमा सामान्य क्षति भएको भएपनि ठूलो क्षति भने भएको छैन। तर, कतिबेला बजारभित्रै कालीगण्डकी पस्ने हो भन्ने त्रास रहेको स्थानीय चित्रराज रेग्मीले गुनासो गरे।

नदीले कटान गर्दै जान थालेपछि बस्ती जोखिममा परेको वडाअध्यक्ष देवेन्द्र भण्डारीले जानकारी दिए। बाढीकै कारण बेनी–बगरफाँट–बाँसखर्क सडकसमेत अवरुद्ध बनेको छ। ग्रामीण सडक नदीले कटान गरेपछि अहिले त्यस क्षेत्रका बासिन्दालाई पैदलमार्फत आवातजावत गर्न समेत समस्या भएको छ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ढकालले स्थानीय जलजला गाउँपालिकालाई क्षतिको विवरण सङ्कलन गर्न र जोखिममा रहेका परिवारको तथ्याङ्क सङ्कलन गर्न आग्रह गरिएको बताए। उनले नदी किनारका बासिन्दालाई वर्षात र बाढी पहिरोको समयमा उच्च सतर्ककता अपनाउन सुझाव दिएको उल्लेख गरे।

२०७५ भदौ २९ गते १०:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर