सुनकाण्डमा मुछिएका एसएसपी लोहनीलाई थुना मुक्त गर्न आदेश
आजको खबर | प्रकाशित : २०७५ भदौ २९ गते १४:१९
विराटनगर । उच्च अदालत, बिराटनगरले सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई थुना मुक्त गर्न आदेश दिएको छ । उनलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो।
न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलार्इ थुनामुक्त गर्ने आदेश दिएको हो ।
उनले ७ असारमा थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए।
उनी तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख थिए । प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो ।
र, १९ वैशाखमा उनी पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो।
लोहनीसहित महाशाखाका डिएसपी प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो।
हराएको साढे ३३ किलो सुन खोजी गर्ने क्रममा गोरे र उनको समूहले शनम शाक्यलगायतलाई कुटपिट गर्नुका साथै करेन्ट लगाए । त्यही क्रममा शनमको मृत्यु भएपछि गोरेले शव व्यवस्थापनका लागि सञ्जेललाई गुहार मागेका थिए।
त्यसका लागि केसी र सञ्जेलको टोली काठमाडौंबाट धरान मात्र पुगेन, आफूसँग २ करोडको डिल गरेको गोरेको बयान थियो । तर, गोरे टोलीलाई नभेटी भारत लागेपछि योजना भत्किन्छ र महाशाखाको टोलीले शव बरामद गर्छ।
प्रकरणमा लोहनीसहित पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय केसी, सञ्जय राउत, सई सन्जेल, जवान विष्णुबहादुर खड्कासहित ६३ जनालार्इ प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो ।