निर्मलाका आमाबाबुले भने, – गृहमन्त्रीलाई भेटेपछि न्यायको आशा पलायो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३० गते १:२८

काठमाडौँ । तेह्र वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा अनुसन्धान तीव्र पारिएको भन्दै दोषीहरूलाई छिट्टै कारबाही गरिने वचन पीडित बालिकाका आमाबुवालाई गृहमन्त्रीले दिएका छन्।

निर्मलाका परिवारसँग भएको भेट र प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा गृहमन्त्री रामबहादुर थापाले अनुसन्धानका क्रममा कुनै गल्ती भएको पाइए सम्बन्धित व्यक्तिलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्रीसँगको भेट पछि दोषीलाई कारबाही हुने केही आशा बढेको निर्मलाकी आमा दुर्गादेवीले बताएकी छन्। गत साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। तर सात हप्ता बित्दा पनि उक्त घटनाको दोषी पत्ता लाग्न सकेको छैन।

पहिले जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर र त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो अनि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले गरेर तीन तहको अनुसन्धान भइसकेको छ।

लामो समयसम्म दोषी पत्ता लाग्न नसकेको विषयलाई लिएर बिहीवार प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको उत्तर माग्दै संसद् नै अवरोध गरेपछि शुक्रवार गृहमन्त्री रामबहादुर थापा जवाफ दिन संसद्‌मा उपस्थित भएका थिए।

संसद्‌मा बोल्दै उनले भने, निर्मला हत्याको घटनाका दोषीहरूलाई कानुनी सजायबाट उन्मुक्ति नदिने कुरामा विश्वस्त गराउन चाहन्छु। छानबिन तीव्र रूपमा अगाडि बढिरहेको छ। दोषीहरूलाई छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु।

२०७५ भदौ ३० गते १:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर