निर्मला हत्याकाण्ड : ५२ दिन पुग्दा पनि दोषी को ? पत्ता लाग्ने सम्भावना सकिँदै

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३१ गते १०:४०

खेमराज थापा

काठमाडौं। कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्नै लाग्दा अहिलेसम्म भएका प्रगतीले दोषी पत्ता लाग्ने सम्भावना सकिँदै गएको देखिएको छ। सो घटनाको अनुसन्धानमा सहभागी एक प्रहरी अधिकारीले डिसी नेपालसँग भने, ‘अहिलेको अवस्थाले त दोषी पत्ता लाग्ने सम्भावना नै छैन।’

यो घटनाको अनुसन्धानमा प्रहरीलाई आवश्यक सहयोग पीडित र सरकार दुबै पक्षबाट नभएकाले र घटनाले अर्कै मोड लिएकाले दोषीतर्फ अनुसन्धान नै केन्द्रित हुन नसकेको ती प्रहरी अधिकारीको निश्कर्ष छ। नागरिकले प्रहरीलाई नै दोषी देख्ने र सरकारले प्रहरीमाथि कारबाही अगाडि बढाउने काम भइरहेको छ।

वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्नै लाग्दा अहिलेसम्म भएका प्रगतीले दोषी पत्ता लाग्ने सम्भावना सकिँदै गएको देखिएको छ

सरकारले छानविन समिति गठन गर्नुभन्दा पहिला अनुसन्धान टोलीले गरेका केही घटना यतिसम्म लापरबाहीपूर्ण भए जसलाई पीडित र नागरिकले विश्वास गर्न सकेनन्। जसले गर्दा यो घटनाले देशैभरी प्रहरीमाथि नै दोष थुप्रिँदै गयो। छानविन समितिको भनाइ र नागरिकको भनाइलाई केन्द्रित गर्दै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा र कञ्चनपुरका मेयरका भतिजाको डीएनए परीक्षण भइरहेको छ। तर, यसबाट पनि केही पत्ता नलाग्ने सम्भावना रहेको ती प्रहरी अधिकारी बताउँछन्।

घटनाको आइतबार ५२ दिन पुग्दा पनि यो घटनाको दोषी को हो? भन्ने प्रश्नको उत्तर कसैसँग पनि छैन। र, प्रहरीप्रति पनि अविश्वास बढ्दै गएको छ। छानविन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएकाले यसका थप रहस्य खुल्दै जाने अवस्था छ। तर ती रहस्य दोषीतर्फ नभई छानविन समिति गठन गर्नुपूर्व प्रहरीले गरेको अनुसन्धानतर्फ बढी केन्द्रित हुने ती प्रहरीको दावी छ।

डिसी नेपालसँगको कुराकानीमा ती प्रहरी अधिकारीले सबै घटना विवरण सुनाए। उनले भनेको आधारमा के भन्न सकिन्छ भने, तत्कालीन एसपी डिल्लिराज विष्टको व्यक्तिगत आचरणका कारण स्थानीयले प्रहरीप्रति विश्वास नगरेका हुन्। प्रहरी अधिकारी भन्छन्, ‘एसपीको बानी कसैसँग पनि समन्वय नगर्ने, जनता, दल, मिडिया कसैसँग पनि।’

उनको यही बानीले निर्मला हत्याकाण्डमा पीडितलाई विश्वास दिलाउन सकेनन् जहाँ प्रहरी चुकेको पहिलो घटनाका रुपमा लिन सकिन्छ। दोस्रो प्रहरीले मुख्य अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्ट पक्राउ परेको २४ घण्टाको छोटो अवधिमा सार्वजनिक गरिए, जसले गर्दा प्रहरीको अर्को गल्ती देखियो। एसपी विष्टको भूमिका यहीँनेर कमजोर देखिन्छ।

घटनाको आइतबार ५२ दिन पुग्दा पनि यो घटनाको दोषी को हो? भन्ने प्रश्नको उत्तर कसैसँग पनि छैन। र, प्रहरीप्रति पनि अविश्वास बढ्दै गएको छ। छानविन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएकाले यसका थप रहस्य खुल्दै जाने अवस्था छ

अभियुक्त भनिएका विष्टलाई सार्वजनिक गर्ने विषयमा अनुसन्धान अधिृकत प्रहरी निरीक्षक एकेन्द्र खड्का र कार्यालय प्रमुख एसपी विष्टबीच विवाद भएको ती प्रहरी अधिकारी बताउँछन्। उनी भन्छन्, ‘खड्काले तत्काल विष्टलाई सार्वजनिक नगरौं भनेका थिए, तर एसपी विष्टले उनीमाथि दबाब दिए। एसपीले किन यस्तो दवाब दिए भन्ने थाहा भएन।’

निर्मला पन्तको हत्या भएको साउन १० गतेदेखि भदौ ९ गतेसम्म प्रहरीले के के गर्यो भन्ने विवरण डिसी नेपाललाई प्राप्त भएको छ। विवरणअनुसार साउन १० गते बेलुका करिब ९ बजेतिर निर्मलाकी आमा दुर्गादेवीले छोरी हराएको सूचना वडा प्रहरी कार्यालय कञ्चनपुरमा फोनबाट दिएकी थिइन्। राति १२ बजे प्रहरी विट सालघारीमा आफै पुगेर निर्मलाका आफ्न्तले उनी हराएको बारे जानकारी दिएका थिए। र बबिता बमको घरमा खानतलासी गर्न भनेका थिए। तर, प्रहरीले भोलि बिहानै जाने, अहिले नजाने भनेर उनीहरुलाई फर्कायो।

साउन ११ गते बिहान फेरि निर्मलाका आफन्त वडा प्रहरी कार्यालय गए। त्यसपछि प्रहरीले खोजी शुरु गर्यो । करिब ९ बजे उखुबारीमा निर्मलाको शव फेला पर्यो। शरीरको तल्लो अंग खुला, पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो। घटनास्थल र प्रकृतिअनुसार बलात्कारपछि हत्या भएको आशंका गरियो। घटनास्थलमा सबैभन्दा पहिला वडा प्रहरी कार्यालयको टोली पुगेको थियो भने, जिल्लाको अनुसन्धान टोली करिब साढे ९ मा पुगेको थियो।

सोही दिन करिब १ बजे प्रहरीले मुचुल्का तयार पार्यो। प्रहरीले मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरेपछि त्यहाँ जम्मा भएका स्थानीयले अवरोध गरे। उनीहरुले प्रमुख जिल्ला अधिकारी, एसपी र मेयर घटनास्थलमा आउनुपर्ने अनि मात्र शव उठाउन दिने बताएका थिए। प्रहरीले सम्झाई बुझाई गरेर ४ बजेतिरमात्र त्यहाँबाट शव उठायो र अस्पतालतर्फ लाग्यो। तर स्थानीयले फेरि अवरोध गरे।

शव नगरपालिका कार्यालयको गेट नजिकै पुगेपछि उनीहरुले त्यहाँ अवरोध गरेका थिए। प्रहरीले करिब २२ राउण्ड अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेपछि ८ बजेतिरमात्र शव अस्पताल पुर्याइयो।

सोही दिन प्रहरीले घटनास्थलबाटै दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको थियो। सबैभन्दा पहिला शव देख्ने दिपक नेगी र मानसिक अवस्था ठिक नभएका जीवन घर्तीलाई प्रहरीले २४ घण्टा हिरासतमा राखेर सोधपुछपछि छोडेको थियो। सोही साँझ प्रहरीले बबिता बमको घर खानतलासी गरेको थियो।

१२ गते प्रहरीले बबिता बम र उनकी बहिनी रोशनी बमलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो। उनीहरुलाई पनि २४ घण्टा हिरासतमा राखेर दैनिक हाजिरी जमानतमा छोड्यो। यसबीचमा स्थानीयको आन्दोलन जारी थियो। यसैबीचमा साउन १३ गते केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली कञ्चनपुर पुग्यो। र सीआईबीले १४ गतेबाट काम शुरु गर्यो।

अनुसन्धान टोली र सीआईबीको टोलीले अनुसन्धान अवधिभर ११७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। प्रहरीले साउन १९ गते घटनास्थलबाटै स्थानीय चक्र बडुवाललाई नियन्त्रणमा लियो। बडुवाललाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको थियो। उनलाई ११ दिनसम्म हिरासतमा राखिएको थियो। डीएनए रिपोर्टबाट यीनको घटनामा संलग्नता नरहेको पुष्टि भएपछि जिल्ला प्रशासनले ५ हजार रुपैयाँ धरौटीमा छोडेको थियो।

असोज ३ गते प्रहरीले निर्मलाको शव फेला परेको स्थानबाट शंकास्पद व्यक्ति दिलिप सिंह विष्टलाई पक्राउ गर्यो। ४ गते मुख्य अभियुक्तका रुपमा सार्वजनिक गर्यो। २४ घण्टाको सोधपुछमा विष्टले घटना आफूले गराएको स्वीकारी बयान दिएपछि उसलाई सार्वजनिक गरिएको दावी छ। तर, उनी डीएन परीक्षणबाट निर्दोष सावित भइ रिहा भइसकेका छन्।

प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेसँगै स्थानीयमा जबरजस्त आक्रोश देखियो। उनीहरुलाई प्रहरीले सार्वजनिक गरेका व्यक्ति दोषी हुन सक्ने विश्वास नै थिएन। प्रहरीका यस्तै गतिविधिले प्रहरीमाथि नै शंका उत्पन्न गरायो।

अनुसन्धानमा सहभागी एक प्रहरी अधिकारी भन्छन्, ‘हामीले विष्टलाई सार्वजनिक गर्न हतार गरेर गल्ती गरेकै हो। तर, प्रहरीको नियत गलत होइन किन भने गलत नियत भएको भए उसको डीएनए परीक्षण नै गरिन्थेन।’ प्रहरीको नियत गलत होइन भने यो घटना किन दिनदिनै रहस्यमयी बनेको छ? यसका पछाडि कसको के मनशाय लुकेको छ ती प्रहरी अधिकारी नै अन्यौलमा छन्।

के अब यो घटनामा एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षणको परिणामपछिमात्र रहस्योद्घाटन होला? यदि उनीहरुको डीएनए परीक्षणबाट पनि दोषी पत्ता लागेन भने अबको बाटो के हुने यसतर्फ भने कसैको ध्यान गएको छैन। त्यस्तो किन पनि भएको छ भने अहिले घटनाको अनुसन्धान गर्नुपर्ने प्रहरी नै अनुसन्धानको घेरामा छ। सरकार, सञ्चारमाध्यम र आमनागरिक निरन्तर प्रहरीमाथि नै खनिएका छन्। तर, अन्तिममा यो घटनाको अनुसन्धान प्रहरीले नै गर्नुपर्ने हुन्छ। यस्तो जगजगीको अवस्थामा प्रहरीले यो घटनाको अनुसन्धान कसरी गर्छ त्यो त भविश्यले नै बताउला।

२०७५ भदौ ३१ गते १०:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर