चार महिनामा १० हजार भन्दाबढी महिला कामदार विदेशिए

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते ३:१६

निर्मला घिमिरे
काठमाडौं। ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने अठोटसहित सरकार गठन भएको सात महिना पूरा हुन थालेको छ। सरकारले स्वदेशमै रोजगारीको अवस्था सृजना गरेको बताइ रहँदा चार महिनाको अवधिमा १० हजार भन्दा बढी नेपाली महिला कामदार कामको खोजिमा विदेशिएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैशाख महिनामा २ हजार ९ सय ९१, जेठ महिनामा २ हजार ५ सय ८२, असार महिनामा २ हजार १ सय ६९ र साउन महिनामा २ हजार ७ सय ३ जना गरेर दशहजार भन्दा बढी महिला कामदार विदेशिएका हुन्।

नेपाली कामदार महिलाको रोजाइमा युएइ, कतार, साउदी, ओमान, बहराइन, इजरायल, टर्की, पोल्याण्ड, कुवेत,जोर्डन, साइप्रस, जापान, हङकङ, रोमानिया, नर्वे, माल्दिभ्स, श्रीलंकालगाएतका देश रहेको तथ्यांकले देखाएको छ।

विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारका लागि जाने अधिकांश नेपाली महिलाहरु अदक्ष छन्। बिना सीप उनीहरु विभिन्न देशमा रोजगारका लागि गएको तथ्यांकमा उल्लेख छ । चार महिनाको अबधिमा मात्रै विदेशिएका १० हजार ४ सय ४५ महिलाहरुमा ७ जना महिला मात्रै उच्च दक्षता भएका छन्। व्यवसायिक कामको लागि चार महिनाको अवधिमा २६ जना महिला मात्र वैदेशिक रोजगारका लागि गएका छन्।

अर्धदक्ष महिलाहरुको संख्या १ हजार १ सय ३० जना रहेका छन्। दक्ष कामदार महिलाहरु २ हजार ३ सय १३ जना मात्र छन्। सबैभन्दाबढी संख्यामा अदक्ष महिला कामदारहरु ६ हजार ५ सय ८ जना वैदेशिक रोजगारको लागि गएका छन्।

विभागको तथ्यांक हेर्दा सीप तालिम केहिपनि नभएका महिलाहरु अत्याधिक मात्रामा विदेशिने गरेको पाइएको छ। अदक्ष महिलाहरु विदेशिने कारण नै धेरै महिलाहरु हिंसामा पर्ने समस्या जटिल बन्दै गइरहेको छ। श्रम स्वीकृत लिएरै पनि धेरै मात्रामा अशिक्षित र अदक्ष महिला विदेशिएका छन्। सरकारले अभिमुखीकरण तालिमको व्यबस्था गरेकोले केही हदसम्म भने सहज भएको अनुमान गर्न सकिन्छ।

श्रमस्वीकृति नलिइ जाने अवैध नेपाली महिलाको संख्या पनि निकै ठूलो हुनसक्ने रहेको छ। सरकारले वैदेशिक रोजगारमा जाने महिला कामदारको हक हित र सुरक्षाको लागि विभिन्न कानुनको परिधिमा रहेर मात्र श्रमस्वीकृत दिने गरिएकोमा कानुनी प्रावधान विना नै भारतको खुल्ला सीमाना हुँदै अवैधानिक रुपमा भिजिटिङ भिषाको नाममा थुप्रै नेपाली महिला काम गरिरहेको हुनसक्ने अनुमान समेत विभागले गरेको छ ।

नेपालबाट घरेलुकामका लागि महिला कामदार पठाउन बन्द गरिसकेको भएपनि विभिन्न खाडी मुलुकहरुमा महिला कामदार पुगिरहनुले पनि यस कुराको पुष्टि हुन आउँछ।

वैशाख महिनामा मात्रै सबैभन्दा बढी युएइका लागि १ हजार भन्दाबढी महिलाले श्रम स्वीकृत लिएका छन्। कुवेत, कतार,मलेसिया, साउदी लगाएत का मुलुकमा जाने महिलाको संख्या पनि उत्तिकै रहेको छ।

चारमहिनाको अबधिमा सबैभन्दा बढी ४ हजार १ सय ४३ महिलाले युएई को लागि अन्तिम श्रमस्वीकृत लिइसकेका छन्। महिनामा १ हजार ७८, जेठमा ९१८, असारमा ९ सय १५ र साउन महिनामा १ हजार १ सय २७ महिला कामदारले अन्तिम श्रमस्वीकृत लिइसकेका छन्।

त्यसैगरी कतारको लागि श्रमस्वीकृत लिनेहरुमा १ हजार भन्दा बढी महिलाहरु रहेका छन्। माल्टा, साउदी अरब, कुबेत,ओमान, जोर्डन लगायतका मुलुक नेपाली महिला कामदारको लागि गन्तव्य देशहरुका रुपमा रहँदै आएका छन्।

वैदेशिक रोजगारको लागि जाने महिला कामदारको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। घरमा आर्थिक अवस्था कमजोर भएका, श्रीमान्सँग विछोड भएका, श्रीमान् गुमाएका एकल महिला, घरको जिम्वेवारी आफैले सम्हाल्नुपर्ने अवस्था भएका महिला वैदेशिक रोजगारको लागि विभिन्न खाडी लगाएतका मुलुकहरुमा जाने गरेका छन्।

महिला विदेशिनुका चुनौती पनि उत्तिकै मात्रामा देखा परेका छन्। वैदेशिक रोजगार व्यबस्था सुरक्षित भनिए पनि सोचेजति सुरक्षित भने हुनसकेको छैन। थुप्रै महिला वैदेशिक रोजगारका नाममा यौन हिंसाको मारमा परेका छन् कतिको अकालमा ज्यान गएको छ त कति महिलाहरु अंगभंग समेत भएका छन्। यसरी थुप्र्रै महिलाहरुले वैदेशिक रोजगारका क्रममा शारीरिक तथा मानसिक पीडा समेत झेल्दै आएका छन्।

सरकारले  विदेशमा हुने गरेको महिला हिंसालाई ध्यानमा राखि घरेलुकामदारको रुपमा वैदेशिक रोजगारमा जान रोक लगाए पनि खुल्ला सीमाना हुँदै दलालको पछि लागेर अबैध रुपमा जाँदा कति महिलाहरु बेचीन पुग्छन्। यसरी अवैध रुपमा वैदेशिक रोजगारमा जानु निकै नै असुरक्षित पनि छ।

डिसी नेपाल डटकमबाट

२०७५ असोज २ गते ३:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर