राष्ट्रपति भण्डारीद्वारा संविधान दिवसको शुभकामना

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३ गते १:२९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छिन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिदै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेकी छिन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ ।’

संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामनासमेत गरेकी छिन् ।

नेपालको संविधान जारी भएपश्चात् संवैधानिक प्रावधानको मर्म र भावनाबमोजिम स्थानीय तह र प्रदेश एवं सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उनले बहुलवाद र बालिग मताधिकारका आधारमा भएको निर्वाचनबाट जननिर्वाचित संस्था गठन भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरेकी छिन् ।

नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र देशविदेशमा रहेका नेपालीलाई राष्ट्रपतिले आह्वान गरेकी छिन् ।रासस

२०७५ असोज ३ गते १:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर