यस्तो छ घटस्थापनादेखि दशैको टीकासम्मको साइत

आजको खबर   |    प्रकाशित : २०७५ असोज ६ गते ११:४४

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।

असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताए ।

विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

२०७५ असोज ६ गते ११:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर