नेकपामा प्रदेश कमिटीले निम्त्यायो विवाद

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते २:४१

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश कमिटीको घोषणासँगै विवाद सुरु भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच विवाद सुरु भएको हो।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भए पनि लामो समयसम्म तल्ला कमिटीहरूको एकता हुन सकेको छैन। पार्टी सचिवालयले प्रदेश कमिटीको घोषणा भने गरेको छ। प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसहितको पदाधिकारी घोषणा गर्दै पार्टीले स्थानीय एवं जिल्ला कमिटीको एकता टुंगो लगाउन प्रदेश कमिटीलाई नै जिम्मेवारीसमेत दिएको छ।

पार्टी अध्यक्ष ओलीले सचिवालयको निर्णयबाट कमिटी घोषणा भएको भन्दै यसमा आपत्ति जनाउनुपर्ने कुनै तुक नभएको जनाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका ओलीले असहमतिका लागि मात्रै असहमति जनाइएको भन्दै वरिष्ठ नेता नेपालको असन्तुष्टिलाई सम्बोधन नगर्ने संकेत गरेका छन्।

तर सहमति विपरीत प्रदेश कमिटीको घोषणा भएको भन्दै त्यसलाई नमान्ने चेतावनी नेपालले दिएका छन् । लिखित रूपमै पार्टी महासचिव विष्णु पौडेललाई नेता नेपालले असहमति जनाएका छन्। अध्यक्ष ओलीले मुख खोले पनि अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यस विषयमा केही बोलेका छैनन्। उनी पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा छन्।

पार्टीमा अध्यक्षद्वय ओली र दाहालले सहमतिविपरीत निर्णय गर्न थालेको भन्दै नेता नेपाल आक्रोशित छन्।
उनले यस्ता निर्णयको विरोधमा उत्रिन आफू निकटका नेतालाई सुझाएका छन्। शुक्रबार नै पार्टी स्थायी कमिटी सदस्यहरूलाई चियापान एवं शुभकामना कार्यक्रममा अध्यक्षद्वयले गरेको प्रदेश कमिटीको गठन निर्णय नमान्ने चेतावनीसमेत दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा सरकारको गतिविधिका बारेमा टिप्पणी गर्दै वरिष्ठ नेता नेपालले आलोचना गरे। प्रतिपक्षी दलका नेताजस्तै कडा रूपमा उत्रिएका नेपालले सरकारको कामबारे कडा रूपमा विरोध गरे।

पार्टी अध्यक्ष ओली अमेरिका प्रस्थान गर्नुअघि बसेको पार्टी सचिवालय बैठकले प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाट गर्ने निर्णय गरेको थियो।

नेता नेपालले सरकार र पार्टीको काम राम्रोसँग हुन नसकेको आरोप लगाउँदै समीक्षा गर्न पार्टी स्थायी कमिटीको बैठक बस्नुपर्ने आवश्यक रहेको बताए । आफूले बैठकको माग गरिसकेको बताउँदै उनले अबको बैठकमा पार्टी र सरकारको सम्पूर्ण कामबारे समीक्षा गर्नुपर्ने बताए।

सहमतिविपरीत भएको निर्णय मान्य नहुने भन्दै प्रदेश कमिटीका साथै सरकारलगायतका गतिविधिका विषयमा विस्तृत छलफल हुनुपर्ने अडानमा नेता नेपाल रहेका छन्। ओली, दाहाल, नेपाललगायतका नेताका बीचमा प्रदेश कमिटीको टुंगो स्थायी कमिटीबाट लगाउने सहमति भएको थियो।

अहिले पार्टीको भ्रातृसंगठनका साथै तल्ला कमिटीहरूको एकीकरण नहुँदा भद्रगोलको अवस्था रहेको छ। पार्टी सचिवालय सदस्य वामदेव गौतमले पार्टी सचिवालयले प्रदेश कमिटीको टुंगो लगाइसकेको र प्रदेश कमिटीले तल्लो तहको कमिटीको एकीकरण टुंगो लगाउने जिम्मेवारी दिएको बताए।

वरिष्ठ नेता नेपालले विरोध जनाउँदै गर्दा नेता गौतमले सचिवालयको निर्णयको बचाउ गरेका छन्। आफूसमेत सहभागी बैठकबाट भएको निर्णय ठीक भएको भन्दै उनले प्रदेश कमिटीसहितका कमिटीको एकीकरणमा भइरहेको ढिलाइले अब तीव्र गतिमा पार्टीको काम अगाडि बढ्ने विश्वास व्यक्त गरे।

नेकपा स्थायी कमिटी सदस्य गणेश साहले पार्टीको बैठक नियमित नहुँदा नेताहरूको असन्तुष्टि बढ्दै गएको बताए। सचिवालयको बैठक बस्ने तर केही नहुने अवस्था रहेको छ। स्थायी कमिटीको बैठक पनि बस्न सकेको छैन। सरकार र पार्टीको गतिविधिबारे छलफल एवं ठोस निर्णयका लागि बैठकको माग उनले गरे।

राजधानी दैनिक

२०७५ असोज १४ गते २:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर