ओलीले दिए नेता नेपाललाई दनक, ‘म नहुँदा त्यत्रो छटपटी किन ?’

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते ३:२०

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ।

हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ। ‘कतिपय नेताले बोलेको सुनियो, लौ न देश डुब्नै लाग्यो, कोही त आऊ बचाऊ भनेर,’ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भयो, छटपटी भयो। म फर्केर गइहाल्छु, सबै ठीक भइहाल्छ।’

नेपालले सात महिना बित्दा पनि सरकारको प्रभावकारिता नदेखिएको र पार्टी एकलौटी चलाएको विषयलाई लिएर ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न’ भन्ने गीत बिहीबार संसद्मा गाएका थिए। सतहमा उनको अभिव्यक्ति सरकार र पार्टी सञ्चालनमा ओलीको कार्यशैलीप्रति लक्षित छ। नेकपाकै कतिपय नेताले भने उनको अभिव्यक्तिलाई सरकार असफल बनाउने योजनाका रूपमा लिएका छन्।

गृहमन्त्री रामबहादुर थापाले शनिबार तम्घासमा यस्तै संकेत गर्दै भने, ‘सरकारलाई घेराबन्दी गर्ने र गिराउनेसम्मको षड्यन्त्र भइरहेको छ।’ संसद्मा नेपालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता नलागेको र रौतहटलगायत ठाउँमा किशोरीमाथि एसिड प्रहार भएको घटना उप्काउँदै गृहमन्त्री खोइ भन्ने प्रश्न गरेका थिए।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नेपालको असन्तुष्टिलाई सरकार ढाल्ने ‘षड्यन्त्र’ मान्न नहुने बताए। ‘आलोचना सरकारलाई सफल बनाउनकै लागि गर्ने हो,’ उनले भने, ‘विकल्प खोज्ने कुरा अहिले कल्पना गर्न सकिन्न। सरकारको आलोचनालाई लिएर अरू कुरा सोच्न पनि मिल्दैन।’

वर्षे अधिवेशनको अन्तिम बैठकमा नेपालले दिएको अभिव्यक्तिले नेकपाका धेरै नेता–कार्यकर्तालाई २०७३ साउन ८ गतेको घटना सम्झाइदिएको छ। त्यतिबेला संसद्मा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल चल्दै थियो। नेपाल प्रस्तावको प्रतिवाद गर्न रोस्ट्रममा उभिएका थिए। तर उनले अविश्वास प्रस्तावको प्रतिवाद गरेनन्। बरु, त्यसैलाई पुष्टि हुने गरी प्रधानमन्त्री ओलीको आलोचना गरे।

त्यतिबेला उनले ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न।’ भन्ने गीतबाटै भाषण सुरु गरेका थिए। जसको स्मरण उनी आफैंले बिहीबार संसद्मा बोल्दा गराए। सरकार एमालेले भन्दा पनि गुटले चलाएको मुख्य आरोप पनि त्यतिबेला उनले लगाएका थिए। नेपालको त्यही आलोचनापछि ओलीले अविश्वास प्रस्ताव सामना नगरी राजीनामाको बाटो रोजेका थिए।

पहिलो पटक नौ महिनामै सत्ताबाट बहिर्गमन भएका ओलीमाथि अहिले सात महिना पुग्दै गर्दा आफ्नै पार्टीबाट आलोचना सुरु भएको छ। यसका पछाडि सरकारभन्दा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले आफूलाई नसोधी एकलौटी रूपमा अघि बढाइरहेको पार्टी एकता प्रक्रियासँग नेपालको असन्तुष्टि मुख्य कारण रहेको नेकपाका एक नेताले बताए। प्रदेश, जिल्ला र त्यसभन्दा तल्ला कमिटीमा आफ्नो पक्षलाई उपेक्षा गर्ने त्रास बढेपछि नेपाल आलोचनामा उत्रिएका हुन्।

बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा शुक्रबार स्थायी समितिको भेला डाकेर नेपालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल एकलौटी रूपमा अघि बढ्न खोजेको भन्दै त्यसविरुद्ध संगठित रूपमा आवाज उठाउने उद्घोष गरे। उनले नेपालले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने सचिवालयको निर्णयमा लिखित असहमति जनाएका छन्।

‘सचिवालय बैठकमा उहाँको (नेपाल) रिजर्भेसन थियो, अध्यक्षहरू (ओली र दाहाल) फर्केर आएपछि समाधान गर्न सकिन्छ,’ नेता राजन भट्टराईले भने, ‘उहाँजस्तो सिनियर नेताले पार्टीभित्रको असन्तुष्टिलाई लिएर सरकार असफल बनाउन खोज्नुभएको होला भन्ने लाग्दैन। संसदमा उहाँको अभिव्यक्ति यसप्रति जोडिएको पनि होइन।’ यति भन्दाभन्दै पनि भट्टराईले पार्टीबाहिरको शक्तिबाट भने सरकार असफल बनाउने प्रयत्न भइरहेको बताए। त्यस्तो शक्ति को होला त ? भन्ने प्रश्नमा भट्टराईले शक्ति र सत्ताबाट बाहिर रहेकाहरू भन्दै पूर्वराजा र राजावादीतर्फ संकेत गरे। कान्तिपुर दैनिकबाट

२०७५ असोज १४ गते ३:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर