अनावश्यक रुपमा ठगी गर्दै देशभरका कन्सलटेन्सीहरु

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते ३:३७

निर्मला घिमिरे

काठमाडौं। विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने क्रममा रहेका युवाहरुलाई उपत्यकालगायत मुलुकका विभिन्न सहरमा विद्यार्थीलाई परामर्श दिन संचालित कन्सलटेन्सीले ठगी गर्दै आएको खुलेको छ।

उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विधार्थीका लागि विदेशमा रहेका विश्वविद्यालय र भिसाका सम्बन्धमा जानकारी प्रदान गर्न खोलिएका कन्सलटेन्सीले अनावश्यक रुपमा रकम असुलेर विद्यार्थीलाई ठग्दै आएका हुन्।

कन्सलटेन्सीले करोडौँको ठगी गरेका उजुरीहरु दिनानुदिन बढ्दै गइरहेका छन्। अझ अचम्म त के छ भने ठगीने युवा पनि शिक्षित नै छन्। बढ्दै गइरहेको ठगीको स्वरुप हेर्दा शिक्षित अझ उच्चशिक्षा अध्ययनका लागि विदेशिने क्रममा रहेका युवालाई कन्सलटेन्सीहरुले विभिन्न वहानामा ठग्दै आएका छन्।

ठगीका प्रकृया पनि प्राय एउटै भेटिन्छन्। काठमाडौं लगायत देशका विभिन्न सहरमा संचालित कन्सलटेन्सीले विद्यार्थीलाई ठगेर फरार भएपछि पीडित विद्यार्थीहरु अलपत्रपर्दै आएका छन्। एक जना विद्यार्थी बराबर १० देखि १५ लाख भन्दाबढी रकम असुलेर कन्सलटेन्सी सञ्चालक फरार हुने गरेको एक अध्ययनले देखाएको छ।

ठगीएका विद्यार्थी कहिले शिक्षा मन्त्रालय त कहिले प्रहरी प्रशासनमा धाउँदै दिक्क छन्। ब्रोड ए कन्सलटेन्सी, जीपीए कन्सलटेन्सी, एभिन्यु एजुकेशन कन्सलटेन्सी, सुनौलो प्रकाश कन्सलटेन्सी, पब्लिक एजुकेशन फाउन्डेशनलगायत दर्जनौं कन्सलटेन्सी विरुद्ध ठगीका उजुरीहरु परेका छन्।

ठगेर फरार कतिपय कन्सलटेन्सी सञ्चालकहरु प्रहरी प्रशासन र राज्यभन्दा बलिया साबित छन्। किनकी सरकारले ठगलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न समेत सकिरहेको छैन। अझ देशमा यसरी बिना दर्ताका कन्सलटेन्सीहरुले विद्यार्थीलाई ठगी रहँदासमेत कन्सलटेन्सी सञ्चालन सम्बन्धी ब्यबस्थालाई कडाई गर्न सकेको छैन्।

महानगरीय अपराध महाशाखा टेकुमा मात्रै वार्षिक ६ सय भन्दा बढी कन्सलटेन्सीको ठगी विरुद्धका उजुरीहरु आउने गरेका छन्। महानगरीय अपराध महाशाखा टेकुुका डीएसपी मनोहर भट्टका अनुसार विना दर्ताका कन्सलटेन्सी सञ्चालकहरुले विद्यार्थीलाई ठगेर फरार हुँदा कन्सलटेन्सी सञ्चालकको पहिचान हुन नसक्ने र अपराधीलाई पक्राउ गरेर कारबाही गर्न नसक्ने समस्या हुने गरेको छ। विद्यार्थीलाई आकर्षित गर्न विज्ञापन दिने र विभिन्न देशमा अध्ययनका लागि ठूला ठूला सपना देखाएर विद्यार्थीलाई ठग्दै आएको समेत उनले जानकारी दिए।

यस विषयलाई शिक्षा मन्त्रालयले पनि विशेष अनुगमन गर्नुपर्ने र अव्यवस्थित तथा बिना दर्ताका कन्सलटेन्सी खारेज गर्नुपर्ने विज्ञहरु बताउँछन्। होइन भने यस्ता कन्सलटेन्सीले गर्दा एकातिर ठगीहरुको संख्या बढ्दैजाने र अर्को तिर कर्णधार विधार्थीहरुको भविष्यमा पनि खेलबाड हुने विज्ञहरुको टिप्पणी छ।

भविष्यको सुनौलो सपना बोकेर थुपै्र नेपाली विद्यार्थीहरु अमेरिका, अष्ट्रेलिया, जापान, इन्डिया, जर्मनीलगायतका थुपै्र देशहरुमा विधार्थीहरु उच्च शिक्षा अध्ययनका लागि जाने गरेका छन्। त्यहाँ डाक्टर, इन्जिनियर, पाइलट, सीएलगायतका विषयमा उच्च शिक्षा अध्ययनका लागि विधार्थीहरु जाने गरेका छन्।

विदेशमा उच्च शिक्षा अध्ययनको सपना बोकेका थुप्रै युवाहरु कन्सलटेन्सीका कारण मारमा परेका छन्। कतिले त विदेशमा अध्ययन गर्दै कामपनि गर्ने सपना बोकेर साहुबाट ऋण लिएका हुन्छन् तर विदेश जानै नपाइ कन्सलटेन्सीले नै यसरी ठगीदिएपछि विद्यार्थीहरु समस्यामा पर्दै आएका छन्।

२०७५ असोज १४ गते ३:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर