देशव्यापी रुपमा सामुदायिक विद्यालयहरु भोली र पर्सी बन्द हुने
आजको खबर | प्रकाशित : २०७५ असोज १४ गते १५:४७

काठमाडौं । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विरोधमा भोलि र पर्सि देशव्यापी रुपमा सामुदायिक विद्यालयहरु बन्द गर्ने भएका छन्।
समितिले असोज २१ गतेसम्म आफ्ना मागहरु पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ। यदि असोज २१ गतेसम्म पनि माग पूरा नगरे बाध्य भएर आफूहरु देशव्यापी रुपमा अस्थायी करार, राहत, विद्यालय कर्मचारी र बालविकास शिक्षकहरु संयुक्त रुपमा माईतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको निषेधित क्षेत्रपनि तोड्ने समितिका अध्यक्ष होमनाथ चौलागाँईले बताए।
अध्यक्ष चौलागाँईले राज्यले आफूहरुलाई विभिन्न समूहमा विभाजित गरेर आन्दोलनलाई कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्।अब सर्वोच्च अदालतको फैसलाबमोजिम आफूहरुलाई स्थायी गराउन जस्तोसुकै आन्दोलन गर्नपनि पछि नपर्ने उनीहरुको भनाइ छ।
समितिले धेरैभन्दा धेरै परीक्षार्थीको लिखित परीक्षामा नाम निकाल्ने अवसर प्रदान गर्नको लागि विज्ञापन नम्बर १ र २ मा बढी भएका दरवन्दीहरु विज्ञापन नम्बर ३ मा परीक्षा दिने परीक्षार्थीहरुको व्यवस्थापनमा समायोजन गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ।