निर्मला बलात्कार–हत्या–डीएनए परीक्षण किन प्रहरी प्रयोगशालामा ?

आजको खबर   |    प्रकाशित : २०७५ असोज १५ गते १:५५

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो। अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ। यसले आशंका थप बढाएको छ। कानूनी भाषामा भनिन्छ, लास पनि बोल्छ।

अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन्। तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन्। पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएन, प्रहरीकै विधि विज्ञान प्रयोगशालामा गरियो। निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा भने नेगेटिभ आएको छ।

कञ्चनपुरकी १३ बर्से बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासनमाथि नै प्रश्न उठेको हो। विकसित मुलुकले सही निर्णयमा पुग्न एकभन्दा बढी मान्यताप्राप्त प्रयोगशालामा डीएनए परीक्षण गराउँछन्।

अधिवक्ता केदार दाहाल निर्मला बलात्कारपछि हत्या घटनामा प्रहरीको प्रयोगशालाभन्दा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिने उपयुक्त भएको बताउँछन्। उनी भन्छन्, ‘वातावरणीय प्रभावले पनि डीएनएको गुण कोल्याप्स हुन्छ। डीएनए संकलनका प्रक्रियामा चाहिने विशेष खालको बक्स छैन भन्ने सुनेको छु। प्रहरी नै मुछिएको घटनामा प्रहरीले स्वतन्त्र ढंगले गहिरोसँग परीक्षण गर्न सक्यो–सकेन भन्ने प्रश्न उठ्छ।’

अपराधिक घटनामा प्रहरीको संलग्नता हुन सक्ने सम्भावना रहेकाले अस्टेलियामा कानून मन्त्रालयअन्तर्गत विधि विज्ञान प्रयोगशाला राखिएको छ। प्रहरी नै मुछिएको मुद्दामा स्वतन्त्र हैसियतको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्नुपर्ने दाहालले बताए।

‘लाहाछाप हानेर ल्याएको हुन्छ। यस्तो पाइयो भनेर ल्याएको हुन्छ। डीएनए फिल्टर गर्ने उपकरण पनि नभएको र जस्तो ल्याएको हुन्छ त्यस्तै परीक्षण गर्नुपर्ने बाध्यता हो।’ डीएनए परीक्षण गर्ने एक वैज्ञानिकको भनाइ उद्धृत गर्दै अधिवक्ता दाहालले भने। संकलनमा त्रुटि हुन पुगेको अवस्थामा गुणस्तर कायम नहुने उनले बताए।

त्रिभुवन विश्वविद्यालय, फोरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. गोपालकुमार चौधरीका अनुसार बलात्कार मुद्दामा तीन तहको भेजाइनल स्वाब निकालिन्छ। केमिकल जाँच, माइक्रोस्कोपिक जाँच र डीएनए विश्लेषण हुन्छ। त्रिवि फोरेन्सिक मेडिसिन विभागका कानुनी चिकित्सकसमेत रहेका उपप्राध्यापक डा. चौधरीले भने, ‘डीएनए संकलनमा उच्च सावधानी र सतर्कता अपनाउनुपर्छ।’

बालिकाको भेजाइनल स्वाबको परीक्षण गर्दा शंकास्पद व्यक्तिसँग नमिलेपछि प्रहरीको अनुसन्धान र परीक्षणमा प्रश्न उठेको हो। ‘अभियुक्तले कण्डम प्रयोग गरेको रहेछ भने डीएनए परिक्षणमा देखिने सम्भावना न्यून हुन्छ’, डा. चौधरीले भने।

लिंगबाट आँखाले नेदेखिने कोष योनीमा परेको रहेछ भने पनि पत्ता लाग्न सक्छ। बलात्कारको बेला जोसुकैले पनि बचाउन कोशिश गर्छ। ‘त्यो बेला पीडितले कोपरेको छ भने नङभित्र फोहोर वा छाला हुन सक्छ, त्यसलाई संकलन गर्ने हो भने अर्को डीएनए प्रोफाइल आउँछ’, डा. चौधरीले भने। कुनै अंगका कोषिकामा अर्कै प्रकारका डीएनए क्रियाशील हुन्छन् भने फरक अंगमा अर्कै डीएनए क्रियाशील हुन्छन्।

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको भोलिपल्ट शव फेला परेको थियो। घटनालगत्तै बमको घरको कोठामा रंगरोगन गरियो। ‘घरमा घटना भएको थियो भने घरको भित्तामा रगतको छिटा वा टाटा हुन सक्थ्यो। त्यो टाटालाई कपासमा भिजाएर हावामा सुकाई डीएनए संकलन गर्न सकिन्थ्यो,’ नाम उल्लेख नगर्ने सर्तमा एक फरेन्सिक विज्ञले भने।

घटनामा छिनाझपटीका बेला नङमा मासुको टुक्रा, वीर्य, योनी स्वाबलगायत प्रमाण संकलनमा गम्भीरता अपनाइएको छैन। प्रहरीले घटनास्थलको संरक्षण गरेन । पन्तले लगाएको सुरुवाल सुरक्षित गर्नुको साटो पानीमा डुबाउँदै धोइयो। ‘टेक्निसियनले कसरी डीएनए संकलन गर्यो, त्यसमा भर पर्छ’, डा. चौधरीले भने।

सर्वोच्च अदालतले डीएनए परीक्षण मात्रै प्रमाणका रूपमा ग्रहण गर्न अस्वीकार गरेको छ। खुमलटारस्थित विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणले बच्चाका बाबु पहिचान गर्नेसम्बन्धी मुुद्दामा प्रमाण ग्रहण गर्न अस्वीकार गरेको थियो।

नेपालमा २००५ देखि डीएनए परीक्षण सुरु गरिएको थियो। अधिवक्ता दाहाल डीएनए परिक्षणपछिको प्रमाणलाई सर्वोच्च अदालतले समेत अस्वीकार गरेको बताउँछन्। भन्छन्, ‘बुबा र सन्तानको पहिचानका लागि भएको डीएनए परीक्षणको सत्यतालाई अदालतले समेत अस्वीकार गरेको छ।’ अन्नपूर्णपोष्ट दैनिकबाट

२०७५ असोज १५ गते १:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर