सगरमाथा चढ्न सहयोग माग्दै दृष्टिविहीन केसी, यसअघि चढिसकेका छन् ८ हजार मिटर

आजको खबर   |    प्रकाशित : २०७५ असोज १५ गते ४:५६

काठमाडौं । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा चढ्ने रहर कसलाई नहोला ? सगरमाथा चढ्ने काम निकै चुनौतीपूर्ण काम हो।

आम मानिस यसको बारेमा सोच्न पनि सक्दैनन्। तर, उमेरले ३२ पुगेका हेर्दा गहुँगोरा देखिने दृष्टिविहीन अमित केसीले यो आँट गरेका छन्। बुबा जंगबहादुर खत्री र आमा प्रेमकुमारीको कोखबाट बाग्लुङमा जन्मिएका उनी सगरमाथाको साउथपोल पुग्ने पहिलो दृष्टिविहीन नेपाली बनेका छन्।

जन्मजातै दृष्टिविहीन भएपनि उनको साहस भने आम मानिसको भन्दा धेरै छ। दृष्टिविहीन रहेका केसीले सगरमाथाको रंग पनि देखेका छैनन् तर उनी सन् २०१७ मा सगरमाथाको झण्डै ८ हजार मिटर उचाइमा रहेको साउथ कोल पुगेर फर्किएका छन्।

सगरमाथामा पाइला टेक्ने लक्ष्यका साथ अघि बढेका उनलाई मौसमले साथ दिएन। उनी सगरमाथा चढ्दै गर्दा २४ घण्टा हावाहुरीमा फसेर अक्सिजन सकिएपछि बीचबाटै फर्किनु परेको बताउँछन्। समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका केसी पुनः सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका छन्।

अपांगतालाई कमजोरीको रुपमा नलिएर अवसरको रुपमा लिँदै आफूभित्र रहेका अन्तर्निहीत क्षमतालाई प्रस्फुटन गराउनुपर्छ भन्ने मान्यतालाई अनुसरण गर्दै अपांगता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुर्याउन सक्छ भन्ने सन्देश दिन यो अठोट गरेको केसी बताउँछन्।

सगरमाथा आरोहणको तयारीका लागि २०७२ साल वैशाख ८ गते सोलुखुम्बु जिल्लाको ६ हजार १ सय ८१ मिटर अग्लो आइसल्यान्ड पिक र चैत्र ८ गते ६ हजार ६ सय ५४ मिटर अग्लो मेरा पिक हिमाल आरोहण गरिसकेको केसीले जानकारी दिए।

सगरमाथा आरोहणका लागि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ लाख नगद सहयोग गरेको र हिमाल आरोहीहरुबाट लिने ७५ हजार रुपैयाँ रोयल्टी र फोहर व्यवस्थापन शुल्कको लागि लिने ४ हजार डलर बराबरको करसमेत छुट गरेको केसीले बताए।

केसीले सगरमाथा आरोहणको त्यो दिन सम्झिँदै भने ‘त्यो दिन हावाहुरी आएर मेरो अक्सिजन नसकिएको भए आज मेरो सपना पूरा हुन्थ्यो।’ उनले थपे ‘म मेरो यो सपनालाई त्यत्तिकै खेर जान दिन्न।’

उनी २०१९ मा पुनः सगरमाथा आरोहणको तयारीमा छन्। उनले उनीजस्ता सयौं फरक क्षमता भएका व्यक्तिहरुका लागि यो प्रेरणाको विषय र नेपालको पर्यटन प्रवद्र्धनमा यसले ठूलो सहयोग पुग्ने भन्दै सक्दो आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्। केही समयअघि केसी शिक्षक थिए तर उनले सगरमाथा चढ्ने प्रस्ताव राखेपछि शिक्षकको जागिरबाट निकालिएको उनी बताउँछन्।

२०७५ असोज १५ गते ४:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर