वडादशैं र पशुबलीको बिरोध

आजको खबर   |    प्रकाशित : २०७५ असोज १६ गते २:१९

भूमिराज पिठातोली

काठमाडौंको दक्षिणकाली मन्दिरमा वडादशैंको अवसरमा हजारौं पशुबली चढ्छन्। एक विदेशीले दक्षिणकालीको पशुबली तत्क्षणको रक्त नहर देखेपछि हिन्दु धर्मप्रति अनादर फैलाउने प्रतिकृया दिए। कट्टर हिन्दुवादीका लागि त्यो पाच्य भएन र हङ्गामा नै भयो। ती विदेशीको तर्क थियो, ‘धर्मका नाममा यति ठूलो रगतको खोलो बग्छ भने यो भन्दा ठूलो पाप के हुन सक्छ ?” पशुबली बारे निकै बहस चल्यो। कतिले परम्परा र धर्म भन्दै बलिप्रथाको बचाउ गरे, कतिपय विरोधमा उत्रिए।

 

कसैलाई मार्नु काट्नु हिंसा गर्नु धर्म हुने हो भने अधर्म भनेको चाहिँ के होला? पाप भनेको के होला रु पृथ्वी मानिसको मात्र होइन, सृष्टिका सबै प्राणीहरुको पनि हो। सजीव प्राणीहरू सबैलाई बाँच्ने अधिकार छ। त्यसैले वेदले भन्छ, “कुनैपनि प्राणीको हत्या गर्नु हुँदैन। पूजाआजाको निहुँमा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको त्यस्तै राखी ईश्वरका अबोध, लाटासिधा, निरीह, प्राणीहरु माथि खुँडा, खुकुरी, तरबार जस्ता हतियार चलाउनु कायरता हो।” बिना चेतना यस्तो घोर अन्धकारबाट मानिस बाहिर निस्कन सक्दैन। त्यसैले समाजमा चेतना फैलाउनु जरुरी छ।

 

नेपाली तथा (हिन्दु) समाजमा पशुबली परम्परादेखि नै निकै जरा गाडेर बसेको पाइन्छ। पूजाआजा भन्ने बित्तिकै कतिपयले पशुबलीको झझल्को देख्ने गर्छन्। प्राचीन कालदेखि नै पशुबलीबारे विभिन्न तर्कवितर्क पनि चल्दै आएका पनि छन्। एकथरिले भन्छन् “मठ मन्दिरमा देउता तथा जंगलहरुमा भियलाई खुसी पार्न पशुको वली नै चढाउनुपर्छ।” र अर्कोथरीले भन्छन् “पशुको बलीलाई रोक्नु पर्छ। पशुको पनि बाँच्न पाउने अधिकार हुन्छ।” समाजले गर्दै आएको जुनसुकै संस्कार चाहे त्यो राम्रो होस् वा नराम्रो आँखा चिम्लेर संस्कृति भनेर अङ्गाल्ने गलत प्रवृत्तिले गर्दा पशुबलीको औचित्य र अनौचित्यकाबारे औंला उठ्दै आएको छ। आफ्नो जिब्रो तिर्खाएको बेला देवताको नाम बेच्दै पशुको हिंसा गर्ने चलन हाम्रो समाजमा व्याप्त छ, कतिपयलाई पशुको बली चढाउन कुनै चाडवाड नै हुनुपर्छ भन्ने छैन।

 

हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दीपावलीलाई मध्यनजर गर्दै एक दुई महिना अगावै राँगा, खसी बोकाहरुको व्यापार तीब्र गरिन्छ। दशैं तथा तिहारमा स्थानीय चर्चित मन्दिरहरुमा रगतका खोला बग्ने गर्छन। त्यसलाई नेपाली (हिन्दु) समाजले हत्या मान्दैन। देउता दाइना (खुसी) भएको संज्ञा दिन्छ।

 

दशैँलाई साधनाको पर्व, आफूमाथि विजय गर्ने अनुपम पर्व, पारस्परिक सद्भाव र सम्मानको पर्वको रुपमा विकसित गर्दै लाने हो भने यसको नाममा हुने गरेको पशुबलीको कलंकलाई मेटाउन चेतना बढाउनु नितान्त आवश्यक छ। एक्काइसौं सताब्दीमा आएर पनि ढुङ्गालाई राक्षस र देउता छुट्याउदै चेतना भएकाहरु पनि हिंसा गर्नमा प्रबल देखिन्छन्। यसले गर्दा धर्मको नाममा हिंसा बढ्नु बिकृति हो, यसलाई रोक्नु सबैको कर्तव्य हो।

 

पशुको हत्या गर्दा खुसी हुने हाम्रो समाजले कहिल्यै सोच्दैन की पशुको पनि प्राण हो भनेर। मठ मन्दिरमा पशु डोर्याई कान र जीउ भरी पानी पोखेर राँगाबोकाले जीउको पानी हल्लाए देउता खुसी भए भन्दै धारिलो हतियारले गर्धन काट्नु कतिसम्मको चेतना हो? हाम्रो समाजको। हत्या गर्दा पनि एउटै चोटले ढाले पनि एउटा हो, कुनै जनावरलाई त कायरता पूर्वक हजारौं जनाले लखेटेरै हत्या गरिन्छ। पशुको हत्यामा रजाँइ, रमाइलो, खूशी साँटासाँट गरिन्छ।

 

हिन्दुकै कुरा गर्ने हो भने पनि परोपकार, दया, करुणा, सेवा, अहिंसा आदि गुणलाई मनुष्यको भुषण तथा मोक्षको आधार मानिएको छ। प्रसिद्ध ग्रन्थ महाभारतमा हिंसा, हत्या तथा मासु नखाने मानिसलाई ठूलो पुण्य प्राप्त हुने कुरा बताइएको छ। तर हाम्रो समाजले हत्या गर्नेलाई बहादुर भनेर पुकार्छन्। अझ एउटै चोटले पशुको गर्धन रेट्नेलाई त महामहिमको जस्तै गरी सम्मान गर्छन्। ताकी हत्या अपराध हो भन्ने सिकाइँदैन।

 

पद्मपुराणको पद्मोतर खण्डमा भगवान् शिव र पार्वतीबीच संवादको प्रसंगमा भनिएको छ। हे शंकर, स्वयं फलको इच्छाले अज्ञानान्धकारको कारण मेरो नामले विभिन्न प्रकारको जीवहरुको जसले मारकाट गर्छ, त्यसको राज्य, वंश, सम्पति, ज्ञान, स्त्री समस्त ऐश्वर्य केही समयमा नै नष्ट हुन्छ। त्यसो व्यक्ति मृत्युपश्चात् नरकमा जान्छ।

 

हिन्दु मात्र होइन विश्वका सबै धर्मग्रन्थले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ। तर बिभिन्न धर्म मान्नेहरु पछि गएर आआफ्नो स्वार्थ र चाहना अनुसार धर्मको व्याख्यालाई आफ्नो अनुकूल बनाउने प्रयासले अनेकन् भ्रम र अपव्याख्या गर्दै प्राणीको हत्या, हिंसा बढी गर्ने गरेको पाइन्छ। अधिकाशं धर्मग्रन्थमा शास्त्रको नाम दिएर धूर्त पाखण्डीहरुले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएका छन्। त्यो हामी माझ छर्लंग देखिन्छ।

 

दार्शनिक पाइथागोरसले भनेका थिए, “जीवहरु मारेर सिकार बनाउनु भनेको अन्तिममा मानव मृत्युको सिकार बनाउनु जस्तै हो। निर्दोष पशुहरूको घाँटीमा नाङ्गा चक्कु घिसारी कायरता पूर्वक हत्या गर्छ र सिकार भन्दै मासु खान्छ, उसले आफ्नो दुःखी शोक खुवाउनु चरा र जनावरहरू मार्ने गर्छ, यसलाई धेरै तुच्छ स्तरको व्यक्ति बुझ्नुपर्छ। यसरी हत्या गरेरै आफ्नो खूशी बटुल्छ भने अन्तिममा मृतक मानबको रगत पनि पिउन सक्छ।”

 

प्रायः स्थानीय मठ मन्दिरहरु सबैमा वडादशैँ मनाइने गरिन्छ। सामान्यतया एउटा मन्दिरमा आधा दर्जन भन्दा बढी खसी बोकाहरुको बली चढाइन्छ। कतिपय मन्दिरमा दर्जन भन्दापशुहरुको बली नचढाएमा देउता रिसाउने । त्यसपछि जतिबेला पनि देउताले आफूलाई पीडा दिन्छ भन्ने कुराको मात्र चेतना छ हाम्रो समाजमा ।

 

कतिपयले हत्या गर्नु भनेको अर्को जुनीमा त्यसरी नै आफ्नो हत्या पनि कसैले गर्न सक्छ भनेर पशुवलीकोे विरोध र हत्या गर्नेलाई पनि रोक्ने गर्दै आएका छन्। त्यो सुधारिदै गएको समाजको लक्षण पनि हो। समाजमा चेतनाले नै पशुको हत्या रोकिने अवस्था देखिदैन। राम्रा भन्दा नराम्रा मानिसहरुको संख्यामा बृद्धि हुदैछ। पापीहरुको संख्या बढेर धार्मिक मान्छेहरु कुना कन्दरामा गएर खोज्नु पर्ने स्थिति भइसकेको छ।

 

त्यसैले जबसम्म सम्पूर्ण पशुबलीबारे निषेध गर्ने कानून बन्दैन तबसम्म हिंसा बिरुद्धका केही आवाजहरु खासै प्रभाव पार्न सक्दैन। हाम्रै नेपालमा पनि जबसम्म हिन्दू राज्यको परिकल्पना गर्छ तबसम्म यस्ता कानून बनाउन गाह्रो हुन्छ। किनकी हिन्दू धर्मका नीतिकारहरुलाईपनि थाहा छ की पशुवली बन्द हुना साथ कम्तिमा सबा प्रतिशत हिन्दूहरू हिन्दुत्वमा रहने छैन।

 

जनताको पक्षमा कानून लेख्न पठाएकाहरु नै प्राणी हिंसाको बिरुद्धमा छैनन्। उनीहरु पनि पशुको वली चढाउनमा सशक्त छन्। पशुवली चढाएर नै हिन्दु धर्म मान्ने गरिन्छ भन्ने छैन। कसैको, कुनैपनि धर्मग्रन्थहरुमा पनि उल्लेख गरेको छैन की प्राणीहरुको हत्या हिंसा गर्नु नै सामाजिक धर्म हो भनेर। तर, धर्मको नाममा भोजन गर्नलाई पशुवली गरिन्छ जुन ठूलठूला शक्तिपिठ मठ मन्दिरहरुलाई पुकारेर।

 

यदि पशुवली बिरुद्धबारे कानून नै बनेमा समाजमा अहिंसाको चेतना फैलिदै जान्छ। पुरानो हत्याहिसां गर्नेहरुले पनि पशुवली बिनाको धर्मकर्म गर्नेछन् पाप काटियोस् भनेर। त्यसपछि महामानब गौतम बुद्धको जस्तो शिक्षा फैलिन्छ। हिन्दुका नीतिकारहरु पनि वास्तबिक हिन्दुको नीतिमा फर्किन्छन्। गीता, बेदले सिकाउने सत्कर्मको बाटोमा सबै धकेलिन्छन्।

 

यसमा धर्मको बिरुद्धमा आवाज उठाउन खोजेको होइन। हिन्दु धर्म त्यागको परिकल्पना गर्न खोजेको होइन। धर्मको नाममा हिंसा फैलाउनेहरुको बिरुद्धमा उभिन खोजेको हो। कुनै धर्म र धर्मगुरुहरुले पनि भन्दैनन् की हत्या हिंसा गर्नु सामाजिक कार्य हो भनेर तर, हाम्रो समाजले धर्म भन्दै देउताको नाम बेची भाकल गर्दै आज नभए भोली बली चढाउने बचन दिने प्रबृतिले नेपाली कुसंस्कारको ढोका खोलीरहेको छ।

 

सबै धर्महरुमा हेर्ने हो भने पनि कुनै धर्मले पुकार गर्दै आएका पशु (जनावर) कसैको मनपर्ने ‘सिकार’ हुन्छ। कुनै धर्म मान्नेहरुले लत्याएका जनावरहरु कसैले सबैभन्दा मन पराएका हुन्छन्। पशुवली धर्ममा नभए पनि धर्म मान्नेहरुले गरेकै हुन्छन्। कतिले गाइको ‘सिकार’ गर्छन् त कसैले भैंसीको ‘सिकार’ गर्छन्। यो सिकार हिन्दुका लागि घृणा हो। किनकी हिन्दुले यी जनावरहरुलाई पुज्ने गर्छन्। कसैले बाख्राको वली चढाउँछन् त कसैले भेडाको वली चढाउँछन्। विश्वका बढीजसो धर्म मान्नेहरुले एउटा जनावरलाई पुजा गर्ने र अन्य जनावरकोे सिकार गर्ने गरेकै सुनिन्छ।

 

अहिन्दूलाई, किराँत वा जनजातिलाई हिन्दूकरण गर्नमा ठूलो भूमिका यसै पशुबलीले खेलेको छ। यो बन्द हुने बितिक्कै उनीहरुको पनि आँखा खोल्नेछ र आफ्नो वास्तविक धर्मले भनेका कुराहरुमा फर्किनेछन्। हिन्दूहरूले हिन्दू ग्रन्थ वा धर्मप्रति मानिसका आस्था बनी रहन हिन्दू धर्ममा हिंसा छैन, धर्मको नाममा पशुवली चढाउनु वास्तविक पाप हो।

 

आधुनिक कालका बोक्रे भलाद्मीहरुको चरम सिमा जस्तै हो यो पशुबलीप्रथा। यदि वडादशैंमा रमाइलो गर्ने नै हो भने परिवारसंगै बसेर कोला, फर्सी र स्याउ काटेर खुशीको माहोल तयार पार्न पनि सकिन्छ पशुको बली नै चढाउनुपर्छ भन्ने छैन।

 

पशुलाई भगवतीका शक्तिपीठहरूमा लगेर हत्या गरेर धर्म हुन्छ भन्ने कुरा गलत हो त्यसैले अरूलाई दुःख, कष्ट, नदिनु नै धर्म हो, वली दिएर देवी–देउता कहिल्यै खुसी हुँदैनन्। राजसी, तामसीमा रमाउने पण्डितहरूले धार्मिक ग्रन्थहरूमा पशुबलीलाई बढवा दिने तरिकाले धार्मिक ग्रन्थको व्याख्या गर्ने गरेको बढी पाइन्छ।

 

कुनै धार्मिक ग्रन्थमा पशुलाई बली दिएर पुण्य हुन्छ भनेर उल्लेख नभएको दुई दशक अघिदेखि चर्चा हुँदै आएको हो। दशैं पर्वमा क्रोधको प्रतीक भनेर निर्दोश खसीबोका तथा राँँगोलाई बली दिनु कदापी धर्म हुन सक्दैन। जीव भएर जीवको हत्या गर्नु महापाप हो। बली पशुलाई हैन, काम, क्रोध, लोभ, मोह र मात्सर्यलाई बली दिनुपर्छ त्यसपछि मात्र आत्माले शान्ति र संरक्षण पाउँछ। त्यसैले पशुहरुको हत्या हिंसा बन्द गर्ने की ?

२०७५ असोज १६ गते २:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर