निजगढ विमानस्थलको निर्माण पक्रिया तुरुन्तै अगाडि बढाउनुपर्छ

आजको खबर   |    प्रकाशित : २०७५ असोज १६ गते २:२८

काठमाडौ । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको निजगढ विमानस्थलको सन्दर्भमा जनस्तरबाट आएको चाँसो र सरोकारका विषयमा सम्बन्धित परियोजना र मन्त्रालयबाट सही तथ्य र सत्यलाई प्रस्ट पार्दै निर्माणमा ढिलो नगर्न निर्देशन दिएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको एक वर्ष भित्रै सम्पन्न गर्नेगरी सञ्चालनमा ल्याउन समितिले सुझावसहित निर्देशन दिएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरण अविलम्ब सम्पन्न गरी निर्धारित समयसीमा भित्रै सम्पन्न गर्न बैठकले आग्रह गरेको छ।

निर्माणाधीन परियोजनामध्ये निजगढ विमानस्थलको हाल चार किल्ला तोक्ने, जग्गा अधिग्रहणको मुआब्जा वितरण तथा बस्ती स्थानान्तरणको काम भइरहेको छ । उक्त आयोजनाको वातावरणीय प्रभावमा मूल्याङ्कन इआइए स्वीकृत भई क्षेत्र खाली गर्ने काम भइरहेको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए।

यस्तै निर्माणाधीन भैरहवा विमानस्थलको हाल भौतिकतर्फ ५५ प्रतिशत प्रगति भएको आयोजनाका प्रमुख प्रदीप अधिकारीले बताए । विमानस्थलको एक साताभित्र धावनमार्ग कालोपत्र शुरु गरिने, टर्मिनलको छानो हाल्ने बाँकी काम सकेपछि छ महिनाभित्र विमान उड्ने अस्था आउने उनको भनाइ छ।

यो विमानस्थल सन् २०१९ को जुलाई १६ भित्र सञ्चालनमा ल्याउने तयारी छ । आयोजनाका लागि करीब ५०० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने र त्यसका लागि रु १० अर्ब खर्च भइसकेको र बाँकी अधिग्रहणका लागि ११ अर्ब चाहिने आयोजना प्रमुख अधिकारीले जानकारी दिए।

समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति विवरण भेटी लगायतका विषय पारदर्शी ढङ्गले सार्वजनिक गर्न, जग्गा संरक्षण, विद्युतीय शवदाह गृहको प्रभावकारी सञ्चालनमा सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराइएको छ।

लुम्बिनी क्षेत्र विकास कोषअन्तर्गत लुम्बिनी गुरुयोजनाको बाँकी काम चाँडो सम्पन्न गर्न तथा पशुपति क्षेत्र विकासको व्यवस्थित गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउन पनि बैठकले निर्देशन दिएको छ।

समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्र र जनताका सरोकारका विषयमा समन्वयका साथ विकास निर्माणका कामलाई साझेदारी र पहरेदार गर्न समिति क्रियाशील हुने धारणा व्यक्त गरिन।

२०७५ असोज १६ गते २:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर