सांसद हरिनारायण रौनियारसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

आजको खबर   |    प्रकाशित : २०७५ असोज १९ गते ११:१०

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रसनका तत्कालीन अध्यक्ष हरिनारायण रौनियार र उनका छोरा एवं पप्पु कन्स्ट्रसनका अध्यक्ष सुमित रौनियार विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

संघीय समाजवादी फोरम नेपालका सांसदसमेत रहेका रौनियार विरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो।

अख्तियारले पप्पु कन्स्ट्रक्सनबाट बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको र पुल बनाउँदा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्ने उजुरी परेपछि अख्तियारले रौनियार विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। सांसद रौनियार विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी स्वतः निलम्बित भएका छन्।

अख्तियारकाे विज्ञप्तिकाे पूर्णपाठ

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र ( ठेक्का नं.MW/DRO-3/BRP-73-067/068) उद्घाटन नहुँदै भत्किएको बन्ने समेतको व्यहोराको उजुरी निवेदनका सम्बन्धमा आयोगबाट अनुसन्धान हुँदा डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन,पोखरिया-७ बीच पुल निर्माणका लागि मिति २०६८।०३।२२ गते सम्झौता भएपछि बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको,फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको, Specifications को Clause ११२ बमोजिम नभएको, Specifications को Clause १०४ बमोजिम निर्माण व्यवसायीबाट Quality Assurance Plan(QAP) पेश गर्न लगाई स्वीकृत गरी निर्माण सामाग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेको, Pile हरुको Depth डिजाईन बमोजिम नभएको वा डिजाईन बमोजिम निर्माण नगरेको तथा निर्माण भएको Pile हरुमा समेत Cavities भएको कारणले नै pile ले लोड लिन नसकी पुल भास्सिएको तथ्य प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टी हुन आयो ।

अत: निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको देखिँदा उक्त कार्यमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो भएको पुष्टी हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहाय बमोजिमका १२ जना ब्यक्तिहरू उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिइ आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

मदन कोइराला
उपसचिव एवं सहायक प्रवक्ता

२०७५ असोज १९ गते ११:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर