लोभैलोभले जेलिएका ज्ञवाली अन्ततः कानूनको फन्दामा

आजको खबर   |    प्रकाशित : २०७५ असोज १९ गते १४:१९

काठमाडौँ । कुनै समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कमल ज्ञवालीलाई आर्दशका रुपमा लिइन्थ्यो। गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका ज्ञवालीले देशकै व्यावसायिक बैंकिङ घरानालाई टक्कर दिने हैसियत बनाए। तर ज्ञवालीलाई धन कमाउने लोभले नराम्ररी च्याप्यो।

नेपाली उखान ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तै भयो ज्ञवालीका लागि। तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहेका ज्ञवालीले आफैँले स्थापना गरेको बैंकलाई समस्यामा पार्ने गरी ऋण लिने वा दिने दुवै काम गरे। सफलता र प्रगतिले ज्ञवालीलाई चरम महत्वाकांक्षी बनायो। जसका कारण आफैँले स्थापना गरेको बैंकको अस्तित्वसमेत मेटियो।

शेयर कारोवार र घरजग्गाको व्यवसायमा नराम्ररी फसेका ज्ञवालीले नागरिकको निक्षेपमाथि चलखेल गरेर आफूमात्र सकिएनन् बैंकलाई समस्या पारे। बैंकिङ क्षेत्रमा जसरी दिन दुई गुणा रात चार गुणाले प्रगति गरे, सोही रफ्तारमा उनले असफलताको नमीठो पाठ पनि पाए। बैंक ठगीको आरोप लागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्ञवालीको खोजी गर्न थाल्यो। बैंकिङ क्षेत्रमा स्थापित भइसकेको किष्ट बैंक प्रभु विकास बैंकसँग गाभिएसँगै अस्तित्वसमेत मेटियो।

त्यसपछि प्रभु बैंकले २०७१ साल भदौ ३० गतेदेखि ‘क’ वर्गको बैंकको रुपमा कारोवार गर्दै आएको छ। प्रहरीको अनुसन्धान र अदालतको आदेशपछि प्रभु बैंकले ज्ञवालीको नाममा रहेको रु २३ करोड बराबरको शेयर बिक्री गरिसकेको छ। किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीसमेतले जम्को प्रकाशन प्रालिसँग कमसल धितो लिई, धितोको अधिक मूल्याङ्कन गरी बैंकलाई स्टकको गलत विवरण पेश गरेका थिए।

उनलाई बैंक ठग्ने उद्देश्यले स्वीकृतिबिना कर्जा दुरुपयोग गरेको अभियोग लागेको छ। जम्को प्रकाशन प्रालि ज्ञवालीको श्रीमती गौरी खनाल ज्ञवालीको नाममा खोलिएको संस्था हो। पाटन उच्च अदालतले गौरीलाई समेत तीन वर्ष जेल सजाय र रु छ करोड २५ लाख बिगो जरिवानाको फैसला सुनाएको थियो।

बैंकिङ कसूरको अभियोग लागेका ज्ञवालीलाई नेपाल प्रहरीले आज कैलाली र कञ्चनपुर जिल्लाको सीमानामा पर्ने मोहना नदीको पुल नजिक गड्डा चौकीबाट पक्राउ गरेको छ। बैंकिङ कसूर र कीर्ते जालसाझी मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले कैद सजाय र जरिवाना तोकेको छ।

बैंकको स्वीकृतिसमेत नलिई शेयरधनी एवं सञ्चालक पटकपटक परिवर्तन गरी जम्को प्रकाशन प्रालिको नाममा किष्टमा नागरिकले जम्मा गरेको निक्षेप अन्यत्र प्रयोग गरेका थिए। ऋण रकम र सोको ब्याज चुक्ता नगरी कर्जा दुरुपयोग गरेको आरोप ज्ञवालीमाथि लागेको छ। बैंकिङ कसूर गरेको मुद्दामा उच्च अदालत पाटनले २०७३ साल जेठ १३ गते ज्ञवालीलाई चार वर्ष कैद र रु चार करोड २६ लाख ८३ हजार ५११ जरिवाना गर्ने फैसला गरेको थियो।

तत्कालीन किष्ट बैंक हाल प्रभु बैंकका तर्फबाट कार्यकारी अधिकृत कुमार लम्सालले ज्ञवाली विरुद्ध जाहेरी दिएका थिए। ज्ञवालीलाई कीर्ते जालसाझी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७४ साल जेठ चार गते रु २९ लाख ७७ हजार ३५६ जरिवाना ठहर्ने फैसला गरेको थियो। महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीका अनुसार बैंकिङ कसूरको अभियोगमा ज्ञवालीलाई आज पक्राउ गरिएको हो।

प्रहरी प्रवक्ता शैलेश थापाले जतिसुकै ठूलो पद र प्रतिष्ठामा रहेर अपराध गरेको भए पनि त्यो धेरै दिन नटिक्ने र कुनै न कुनै दिन कानूनको दायरामा आएरै छाड्ने बताए।नेपालको इतिहासमै ठूलो बैंकिङ कसूरको अभियोग लागेका ज्ञवालीलाई पक्राउ गरेर प्रहरीले ठूलो सफलता हात पारेको छ। प्रवक्ता थापा भन्नुहुन्छ, “प्रहरीले सबै खालको साधन र स्रोतको प्रयोग गर्न सक्दा जस्तोसुकै अपराधीलाई पनि पक्राउ गर्न सक्छ भन्ने पुनःपुष्टि गरेको छ।”

लामो समयदेखिको अनुसन्धानले सफलता पाएको जानकारी दिँदै उनले अदालतको आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढ्ने बताए। छिट्टै सफलताको सिंढी चढेर सोही रफ्तारमा ओरोलो लागेका ज्ञवालीकोे नकारात्मक नजिरले अन्य बैंकरलाई पनि झस्काइ रहनेछ।

२०७५ असोज १९ गते १४:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर