‘पार्टी एकता उल्ट्याउने तत्व सक्रिय भएको छ’ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

आजको खबर   |    प्रकाशित : २०७५ असोज २१ गते ०:५०

काठमाडौं । तत्कालिन नेकपा एमाले र मोओवादी केन्द्रबीच पार्टी एकीकरण हुने घोषणा भएको एक वर्षभन्दा ४ दिन धेरै भएको छ भने पार्टी एकीकरण भएको ५ महिना पुरा भएको छ।

गत वर्ष असोज १५ गते एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने घोषणा गरेका थिए । पार्टी एकतापछि जन्मिएको नेकपाले केन्द्रमा पूर्णता पाएको छ प्रदेशको एकता विवादमा परेको छ, जिल्लाको एकता प्रक्रियामै छ, भातृ तथा जनवर्गीय संघ संगठनहरुको एकीकरण भएकै छैन। नेकपाको सांगठनिक अवस्था यही हो।

यस्तो लथालिंग सांगठनिक अवस्थामा रहेको नेकपामा अध्यक्ष दुई जना छन्। शनिबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता उल्ट्याउने तत्व सक्रिय भएको बताए।

साँच्चै उनले भने जस्तो पार्टी एकीकरण उल्ट्याउने तत्व सक्रिय भएको हो त रु वा उनी सरकारको आलोचनालाई विषयान्तर गर्न खोजिरहेका छन् वा भनौ दुई अध्यक्षले गर्न नसकेको कार्यसम्पादनको दोष अरुमाथि थोपार्न खोजेका हुन् ? प्रचण्डको अभिव्यक्तिपछि उब्जिएका स्वभाविक प्रश्न हुन् । यी प्रश्नको जवाफ सबैभन्दा बुझिनेगरि त प्रचण्डले नै दिन सक्छन् ।

प्रचण्ड चलायमान नेता हुन् । विषयलाई अर्कोतर्फ मोड्ने उनको खुबी समकालि अरु नेताभन्दा निखारिएको छ । उनले कति बेला कुन विषयलाई उठाएर कुन विषयलाई ओझेलमा पार्ने हुन अनुमान गर्न अलि गाह्रो नै हुन्छ ।

आगामी माघमा ओली सरकारले एक वर्ष पुरा गर्नेछ । पार्टी एकीकरणका बेला सहमति भएको भनिएको आलोपालो सरकार चलाउने प्रणाली कार्यान्वयन हुने हो भने ओली सरकारको आयु अब २ वर्षमात्र बाँकी छ । पार्टी एकीकरणलाई उल्ट्याउने तत्व त्यति आलोपालो प्रणाली कार्यान्वयन गर्न नदिने विषयसँग जोडिएको हुनसक्छ ।

प्रचण्डले त्यो तत्व त्यहाँ देखेका हुन सक्छन् किन भने प्रधानमन्त्री केपी ओलीले अमेरिकाबाट फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग भनेका थिए, ‘यो सरकार पाँच वर्ष चल्छ, अनि चुनाव गराएर थप बलियो सरकार आउँछ ।’ के प्रचण्डको शनिबारको अभिव्यक्ति ओलीको त्यहि भनाईको जवाफ हो त अनुमान न हो । यदि यही अनुमान सही हो भने पार्टीको एकीकरण उल्ट्याउने तत्व दुई वटा देखा पर्छन् । एक स्वयम प्रचण्ड र अर्को अर्का अध्यक्ष तथा केपी ओली ।

वर्तमान अवस्थामा ओलीले पार्टीको एकीकरण उल्टउनुपर्ने कुनै कारण छैन । यसबाट उनलाई कुनै फाइदा हुनेछैन । किनभने तत्कालिन एमाले भित्र उनलाई सहयोग गर्नेभन्दा असहयोग गर्नेको जमात ठूलैछ । बरु अहिले उनले मुखले भए पनि प्रचण्डबाट बलियो साथ पाएका छन् । भित्रीरुपमा के गरेका छन् थाहा भएन ।

अनि प्रचण्डले पनि अहिलेको ताजा अवस्थामा एकीकरण उल्ट्यार कुनै फाईदा पाउने वातावरण बनेको छैन । किन भने एकीकरण उल्टिए उनी तेस्रो दलको अध्यक्षमात्र बन्न सक्छन्, उनको वर्तमान हैसियतभन्दा तल । यदि त्यस्तो हो भने उनले देखेको त्यो तत्व को हो त रु कतै प्रमुख विपक्षी काँग्रेस त होइन । अथवा नेकपाकै माधव नेपाल समूहरु ।

काँग्रेसतर्फ उनको संकेत हो भने संसदमै प्रभावकारी भूमिका खेल्न नसकेको र सरकारमा सँगै रहँदा दुई पार्टीबीच् गठबन्धन हुँदैछ भन्ने हेक्का नराख्ने पार्टीले यतिसम्म चलखेल गर्न सक्छ भन्ने तत्काल विश्वास गर्न सकिँदैन ।

किनभने काँग्रेस आफै भित्र रुमलिएको छ । बरु त्यहाँ पार्टी एकीकरण उल्ट्याउनुपर्छ भन्ने जस्तो भइरहेको छ (तत्कालीन काँग्रेस र काँग्रेस प्रजातान्त्रिक) । किनभने तत्कालिन काँग्रेस प्रजातान्त्रिक समूह अहिले काँग्रसमा हाभी छ । यस्तो अवस्थमा नेकपा भित्र काँग्रेसले चलखेल गरेको भन्ने आधार कतै पनि भेटिँदैन ।

शनिबारै बनेपामा नेकपा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा (प्रभाकर)ले पनि एक महत्वपूर्ण अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, पार्टी एकीकरण पूरा नहुँदा सरकार पार्टी प्रणालीबाट टाढा गयो । सरकारको बचाउ गर्ने की विरोध अलमलमा छौं ।’ उनको यो भनाई तथ्य नजिक धेरै नजिक छ ।

नत्र भने प्रधानमन्त्रीले ‘अरिंगाल’ बन्न निर्देशन दिएपछि त्यसको ‘ब्याकफायर’ हुने थिएन । नेकपाका नेताहरु सरकारको दिलैदेखि बचाउ गर्न मानिरहेका छैनन् । बरु विपक्षीभन्दा एक कदम अगाडी बढेर सरकारको आलोचना गरिरहेका छन् ।

त्यसो हो भने हरेक क्षेत्रबाट आलोचित बनेको सरकारको बचाउ गर्न र विषयान्तर गर्न मात्र प्रचण्डले पार्टी एकीकरण उल्ट्याउने षड्यन्त्र भएको बताएका हुन त ?

२०७५ असोज २१ गते ०:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर