निर्मला हत्या प्रकरण : ७१ दिनसम्ममा दोषी पत्ता लागेन

आजको खबर   |    प्रकाशित : २०७५ असोज २१ गते २:११

काठमाडौं। निर्मला पन्तको हत्या भएको ७१ दिन पूरा भएको छ। तर, हत्या कसले गरेको हो भन्ने अहिलेसम्म अत्तोपत्तो छैन। सरकारले उच्चस्तरीय आयोग गठन गरे पनि ती आयोगहरु नाम मात्रैमा सीमित भएका छन्।

गृह मन्त्रालय तथा नेपाल प्रहरीले घटनाको अनुसन्धानका लागि पटकपटक समितिहरु गठन गरे पनि तिनले दिएको प्रतिवेदनसमेतसरकारले सार्वजनिक गरेको छैन। कतै निर्मलाको हत्यारा पत्ता लाग्ने त होइन भन्ने आशंका अभिभावकको छ। सरकारद्वारा पछिल्लो पटक गठन भएको उच्चस्तरीय छानविन आयोगका प्रमुख, एआईजी धीरु बस्न्यात नेतृत्वको टोलीले निर्मलाका परिवारलाई भेटेको छैन।

त्यहीं पनि निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित छानविन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो।

सरकार कहाँ चुक्दै छ ? बलात्कारीसँग झुक्दै छ

महिला अधिकारकर्मी शारदा चन्दले ‘आयोग नाम मात्रैको हो कि भन्ने शंका लाग्न थालेको छ। अहिलेसम्म डीआईजी साबले निर्मलाका बुवाआमालाई भेट्नुभएको छैन। घटनाको अनुसन्धान गर्न नसक्ने प्रहरी नेतृत्वले राजीनामा दिए हुन्छ।’ निर्मलाको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएको सार्वजनिक भइसकेको छ। यसैबीच निर्मलाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। दोषी पत्ता लगाउन सरकार चुकेको भन्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।

घटना भएको ३ महिना हुन लाग्दा समेत दोषी पहिचान हुन नसकेको भन्दै सरकारको खबरदारी गरिएको थियो। बलात्कारीलाई माया गर्छौ, न्याय माग्नेलाई लाठी बर्साउँछौ, आईजीपीलाई बर्खास्त गर, प्रमाण नष्ट गर्नेलाई कारबाही गरलगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
यस्तै सरकार कहाँ चुक्दै छ ? बलात्कारीसँग झुक्दै छ भन्ने नारासमेत प्रदर्शनका क्रममा गुन्जिएको थियो। प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका थिए।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा कलाकार, नागरिक समाज मानवअधिकारवादी, विद्यार्थीलगायत सयौं युवाको सहभागिता रहेको थियो। निर्मलाका निम्ति न्याय नाम दिइएको प्रदर्शनमा सहभागी रविन महर्जनले भने, ‘पटक–पटक जुलुस निस्किए पनि सरकार कानमा तेल हालेर बसेको छ। अब चुप लागेर बस्नु हुँदैन। बलत्कारीलाई फाँसी दिने कानुन बनाएर कार्यान्वयन गरिनुपर्छ।’

सरकारकै संरक्षणमा दोषी पहिचानको प्रक्रियालाई तोडमोड गरिएपछि निर्मला पन्तको बलात्कार र हत्याको विषय चर्को मुद्दाका रुपमा उत्रिएको हो । नेपाल समाचारपत्र दैनिक

२०७५ असोज २१ गते २:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर