गोकर्ण भन्छन्, ‘साउदीको पीडा आमालाई कसरी सुनाउँ?’

आजको खबर   |    प्रकाशित : २०७५ असोज २१ गते २:४८

निर्मला घिमिरे

धेरै कुरा बाध्यताले छोडे
केही चिज गरिबीले।
राम्रो समयले दुनिया देखायो र
खराब समयले आफन्त।
गोकर्ण नाथको फेसबुक वालबाट
काठमाडौं। कञ्चनपुर २ वाणी कृष्णपुर नगरपालिका घर भइ वैदेशिक रोजगारका लागि ६ महिना अगाडि साउदी पुगेर अलपत्र परेका गोकर्ण नाथ आफू साउदीमा अलपत्र परेको कुरा सुनाउँदा आफूले भोगेको भन्दा वढी असह्य पीडा आफ्नी आमालाई हुने भएकोले भन्न नसकेको बताउँछन्।

उनी मन्टेज म्यानपावर कम्पनी मार्फत १ लाख ४० र रुपैयाँ बुझाएर होटलकामका लागि साउदी पुगेका थिए। तर साउदीमा काम त परै जावस् खान, बस्न समेत नपाएर उनले ८ दिन र ८ रात सम्म भोकभोकै साउदीको सडकमा बिताएको बताउँछन्। उनले साउदीमा यस्तो अलपत्र परेर समस्यामा पर्दा समेत आफू अलपत्र परेको खबर घरमा दिएनन्।

गोकर्ण भन्छन्–आफ्नो सन्तान परदेशी भूमिमा भोकभोकै अलपत्र परेको कुरा कसकी आमाले सुन्न सक्छिन्, आमालाई यो खबरले कत्ति असह्य हुँदो हो, त्यसैले केही पनि भनिन्।’ उनले भने, ‘बिहीबार घरबाट फोन आएको थियो के छ? कसो छ? भन्ने सामान्य कुरामात्र भयो ढुक्क भएँ धन्न मेरो बारेमा आएको समाचार हेर्नु भएकै छैन रहेछ।’

मन्टेज म्यानपावर कम्पनीले उनलाई होटल कामको लागि भन्दै पठाएपनि कहिले फोहोर संकलन त कहिले लोड अनलोडको कठीन काम गर्न उनी बाध्य थिए। यस्तो कठीन काम समेत नपाएर झण्डै ४५ दिन अलपत्र परेको उनी बताउँछन्। खाने, बस्ने र कामको समेत टुंगो नभए पछि गोकर्ण एता न उता बनेका थिए।

आफू अलपत्र परेपछि गोकर्णले एकजना साथीको सहयोगमार्फत सिधाकुरा जनतासँग कार्यक्रममार्फत आफू अलपत्र परेको र दूतावासले गरेको वेवास्ताको प्रमाण समेत जुटाए पछि उनले ढुक्कको शासफेरेको बताए। गोकर्ण भन्छन्, ‘विरानो देशमा त नेपालीकामदारलाई सहयोग गर्न स्थापित दूतावासलेसमेत उल्टै हप्काउने रहेछ । दुई महिना धाउँदा समेत वास्ता गरेन।’

उनले दूतावाससँग हारगुहार गर्दा पनि कम्पनीले जुनकाम लगायो त्यही काम गर्ने होइन भने नेपाल जान ८ हजार भन्दाबढी साउदी रियाल बेहोर्नुपर्ने भन्दै ठाडो जवाफ दिएको बताएका छन्। उनी साउदीमा काम नपाएर अलपत्र परेको समाचार नेपालका मिडियामार्फत आएपछि बल्ल बुधबारमात्रै उनले साउदीको होटलको मुख देख्न पाएको बताएका छन्। उनले साउदीको एउटा होटलमा ३ दिनपछि काम पाउने भएका छन्। उनी भन्छन्–मिडिया भगवान नै सावित भए मेरोलागि।’

उनले भने–साउदीको होटलमा काम गर्न परीक्षा दिनुपर्छ। परीक्षाको लागि तयारी गर्न ३ दिन कक्षा लिन जानुपर्छ। परीक्षाको रिजल्ट आएपछि प्रमाणपत्र पाइन्छ अनि होटलमा काम गर्न मिल्छ।’ साउदीमा अलपत्र परेर निराश बनेका गोकर्ण बल्ल ढुक्क भएका छन्। उनी आशावादी भएर नै भन्छन् –जसरी पनि प्रमाणपत्र लिएर होटलमा काम गर्न थाल्छु।’

उनले फेरि थपे–म्यानपावरले दलाली गरेर ठग्यो, काममा पठाउछु भन्दै अलपत्र पारिदियो घरमा भनेर तत्काल म्यानपावरलाई अलपत्र पारेको उजुरी गरेर क्षतिपूर्ति बेहोर्न लगाउनु पर्ने हो तर घरमा पीडा हुन्छ भनेर आफै सघर्ष गरेँ।’ म्यानपावरले आफू साउदी पुगेपछि अलपत्र परेको बेला फोन गर्दा समेत एजेन्ट मनोज कुमारले फोनै नउठाएको बताउँछन्। गोकर्ण भने–अहिले सम्म पनि एजेन्टले फोन उठाएको छैन।’

१ लाख ४० हजार बुझाएर साउदी पुगेका गोकर्णले म्यानपावरका एजेन्ट मनोज कुमारको नाममा १ लाख रुपैयाँ आइएमईमार्फत बुझाएको र रु ४० हजार बिना किर्ते हातैमा दिएको बताएका छन्। म्यानपावर कम्पनीले आफूलाई साउदीमा अलपत्र पारेकोले नेपाल आएपछि क्षतिपूर्ति बेहोर्नुपने गुनासो गरेका छन्।

गोकर्णका घरमा आमाबुबा, दाजुभाउजु, उनकी श्रीमती, दुईजना भतिजभतिजी र एउटा छोरो छन्। विदेश जानुभन्दा पहिले गोकर्ण कञ्चनपुरमै उनका दाजु हरिस नाथसँग मिलेर घर निमार्ण सामग्री बालुवा, इँटा, सिमेन्ट, रोडा, गिट्टीलगायतका सामग्री ढुवानीको काम गर्थे।

नेपालमा भन्दा साउदीमा राम्रो कमाइहुने अभिलासा बोकेर परदेशिएका गोकर्णको सपनाको संसार सोचेभन्दा ठ्याक्कै उल्टो भइदियो। उनी कत्ति समय परदेशमा असह्य पीडा खप्न बाध्य भए।

गोकर्ण भन्छन्–दाजुले यहि मिलेर काम गरौँ भन्दाभन्दै केके न होला भनेर हिडेँ,दाजुले भनेको नमान्दा साउदीमा ठक्कर खाएँ। दाजुलाई फकाएर हिडेको अहिले पछुत्ताएँ। अब नेपाल फर्किए पछि दाजुले देखाएको बाटो हिँड्छु।’ उनले भने–परदेश आइहालेँ, अब सुखदुख काम गर्छु नेपाल फर्किएपछि दाजु सँग मिलेर गाउँमै केहीकाम गर्छु।’

२०७५ असोज २१ गते २:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर