घटनास्थल र शव बरामदको ठाउँ फरक–फरक, बम दिदीबहिनी नै शंकास्पदको घेरामा

आजको खबर   |    प्रकाशित : २०७५ असोज २२ गते ०:३६

काठमाडौं । गएको साउन ११ गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ की १४ वर्षीया निर्मला पन्तको घटनाबारे छानविन गर्न सरकारले गठन गरेको उच्च स्तरीय छानविन समितिले तयार पारेको प्रतिवेदन आइतबार सार्वजनिक भएको छ ।

छानविन समितिको प्रतिवेदन पनि घटनाको मुख्य दोषीसम्म पुग्न नसके पनि केही अपेक्षा गरिएअनुसारको निश्कर्षमा पुगेको देखिन्छ । हालसम्म विभिन्न सञ्चारमाध्यममा आएका समाचार जस्तै छानविन समितिले पनि तत्कालिन प्रहरी नेतृत्वमाथि कर्तव्य पालनमा कमजोरी भएको निश्कर्ष निकालेको छ भने बम दिदीबहिनीमाथि थप अनुसन्धान गर्नुपर्ने बताएको छ ।

प्रतिवेदनलाई आधार मान्ने हो भने अब यो घटनाको दोषी पत्ता लगाउन बम दिदीबहिनी नै प्रमुख आधार बन्न सक्छन् । प्रतिवेदनले अनिता बम र रोशनी बमका गतिविधी शंकास्पद रहेको भन्दै थप अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । निर्मला पछिल्लो पटक बमको घर गएकी थिइन् भने उनी त्यसपछि जिवित भेटिनन् । बम दिदी बहिनीका बयान र गतिविधि पनि शंकास्पद रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रतिवेदनले घटनास्थल र शव बरामद भएको स्थान एउटै नभएको निश्कर्ष निकालेको छ । अनेत्र घटना गराई शव उखुबारीमा फालेको हुनसक्ने प्रतिवेदनले औल्याएको छ । प्रतिवेदनमा उखुबारी हिलो माटो भएकाले जोरजबरजस्ती शारीरिक सम्बन्ध राख्न नसकिने अवस्था, निर्मलाले प्रतिकार गरेको कुनै संकेत नभेटिएको, शवको मुखमा माटो नपसेको जस्ता कारण देखाउँदै घटनास्थल र शव फेला परेको स्थान फरक हुनसक्ने उल्लेख गरिएको छ ।

यस्तै निर्मलाको तौल ४० केजीभन्दा माथि रहेकाले एक जनाले मात्र उनलाई उखुबारीमा लिन सक्ने अवस्था नरहेको भन्दै सामूहिक बलात्कारतर्फ पनि संकेत गरेको छ । यद्यपी शवको पोस्टमार्टम रिपोर्टमा घाँटीमै थिचेर एक हातले गराएको घटना भनिएकाले सामूहिक बलात्कार भएको वा नभएकोबारे भने प्रतिवेदमा केही खुलाइएको छैन।

यस्तै प्रतिवेदनमा एसपी डिल्लीराज विष्टमाथि थप अनुसन्धान गरी विभागीय कारबाही गर्न सुझावसमेत दिएको छ । उनको क्षमता र नियतमाथि प्रश्न उठाउँदै उनीमाथि थप छानविन गर्न प्रतिवेदनले सुझाव दिएको हो ।

यस्तै प्रतिवेदनले निर्मला हत्या प्रकरणमा अनुसन्धान तथा सहयोगीका रुपमा खटिएका प्रहरी अधिकारीको कामकारबाहीको सम्बन्धमा प्राप्त तथ्य, प्रमाण र घटनाक्रमका आधारमा संलग्नता देखिए छाविन गरि विभागीय कारबाही गर्नसमेत सुझाव दिएको छ ।

प्रतिवेदनको मुख्य निश्कर्ष तत्कालिन प्रहरी नेतृत्वको अनुसन्धानमा कमजोरी रहेको देखिन्छ । प्रतिवेदनले सो घटनासँग सम्बन्धित सबै प्रहरी अधिकारी र कर्मचारीमाथि थप छानविन गरि विभागीय कारबाही गर्न सिफारिस गरेको छ । उसले विज्ञ टोली समावेस गरि अर्को समिति बनाएर दोषीबारे अनुसन्धान गर्नसमेत सुझाव दिएको छ ।

२०७५ असोज २२ गते ०:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर