सरकारको निर्देशनप्रति चिनी उत्पादक संघको आपत्ति
आजको खबर | प्रकाशित : २०७५ असोज २३ गते १६:०१

काठमाडौँ । चिनी उत्पादक संघले पाँच दिन भित्र किसानहरुको बक्यौता रकम तीर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ। चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पाँच दिन भित्र किसानहरुको बक्यौता रकम तीर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन्।
सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको मंगलबार बसेको बैठकमा उहाँले चिनीको बक्यौता रकम तीर्न सरकारले आफूहरुको गोदाममा थन्किएर बसेको चिनी साल्ट ट्रडिङमार्फत् खरिद गर्ने व्यवस्था गर्नुपर्ने सर्त पनि अघि सारे। अध्यक्ष अग्रवालले २५ प्रतिशत चिनी विक्री हुँदा आफूहरुले किसानहरुलाई ६२ प्रतिशत भुक्तानी गर्दा पनि सरकार र संसदीय समितिले असन्तुष्टि जनाएकोमा पनि आपत्ति जनाए।
किसानहरुको १ अरव ५० करोड बक्यौता रकम तिहारपछि मात्रै तिर्ने गरी गरिएको सहमति पनि सरकारले तोडेको अध्यक्ष अग्रवालको आरोप छ। संघले चिनीको मूल्य वृद्धि नभएको दावी पनि गरेको छ । गत वर्ष प्रतिकेजी ६३ रुपैयाँमा विक्री गरिएको चिनीको मूल्य यस वर्ष ५७ रुपैयाँ कायम गर्दा पनि विरोध गरिएको अध्यक्ष अग्रवालको गुनासो छ।
अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय बजारमा चिनीको मूल्य सस्तीएपछि स्वदेशी उद्योगलाई जोगाउन आफूहरुले केही समयका लागि सरकारलाई चिनीको आयातमा प्रतिबन्ध गराउन आग्रह गर्नु परेको पनि समितिलाई स्पष्टिकरण दिए। बैठकमा उपसमितिका सदस्यहरुले चिनीको मूल्य किन बढाएको भन्दै चिनी उत्पादकहरुको चर्को आलोचना गरेका थिए।