सत्तारुढ दलकै नेता रायमाझी भन्छन्, ‘ओली सरकार अति सुस्त भयो, अब ‘गियर चेन्ज’ गर्नुपर्छ’

आजको खबर   |    प्रकाशित : २०७५ असोज २४ गते ७:०७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताएका छन्। उनले सरकारले अब गियर चेन्ज गरेपछि मात्रै पिकअप लिने दाबी गरे।

बुधबार राजधानीमा आयोजित भए कार्यक्रममा बोल्दै नेता रायमाझीले मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै भने, ‘यतिमात्रै होइन, नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेका छौं।

यतिवेला ज्यादै नै महत्वपूर्ण र सकरात्मक परिस्थिति सिर्जना भएको छ। विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन। राजनीतिक आन्दोलनका कारण पनि हामीले जसरी देशलाई विकासको बाटोमा डोर्याउनुपर्दथ्यो। त्यो सकेनौं । तर, पछिल्लो चरणमा दुई तिहाईको सरकार बनेको छ।’

उनले अब वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने बताए। उनले भने, ‘सरकारले राष्ट्र र जनताको आवश्यकत्ता पूरा गर्नुपर्छ। यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पूरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ। नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ।’

उनले अघि थपे, ‘सोच, संस्कार र चिन्तनको कुरा आउँछ। यसले थोरै द्विविधाजस्तो देखिन्छ। जति दूुत गतिमा सरकारले कामहरु सम्पादन गरेर, योजना बनाएर अघि बढ्नुपर्ने हो, त्यो चाहीँ अलिकति कठिनाई भएको, जनताको आकांक्षा अनुसार अगाडि बढ्न नसकेको जस्तोपनि देखिन्छ।

जहाँसम्म सरकारले विकास र समृद्धि, अनि सुशासनको क्षेत्रमा जनतालाई पर्ने महँगीदेखि भ्रष्टाचारका सवाल छन्, यस विषयमा जनताका गुनासाहरु छन्। त्यसलाई सरकारले तिव्र रुपमा ती विकृति, विसंगती र कमिकमजोरीहरुलाई हटाएर अब राष्ट्र र जनताको समृद्धिको काममा, जनताको सेवामा तिव्र रुपमा अगाडि बढ्नुपर्दछ।’

२०७५ असोज २४ गते ७:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर