प्रधानमन्त्री ओलीलाई ‘घुर्की’ लगाउँदा समस्यामा रामवीर

आजको खबर   |    प्रकाशित : २०७५ असोज २५ गते ३:२४

काठमाडौं। नेकपाका शीर्ष नेता वामदेव गौतमको सांसद बन्ने रहरले नेकपामा विवादको रुप लिएको छ। बाम गठबन्धन गरेर चुनावमा होमिदासमेत बर्दियाबाट पराजित भएको गौतमको सांसद बन्ने रहरलाई पार्टी अध्यक्ष प्रचण्डले साथ दिँदा पूर्व एमालेमा तरंग छाएको छ। त्यतिमात्र होइन, गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले गौतमलाई सांसद बनाउन भन्दै राजीनामा दिने घोषणा गरेपछि राजनीतिक तरंगित बनेको छ।

गौतमलाई सांसद बनाउन राजीनामाको घोषणा गरेको मानन्धरले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग परामर्श नै नगरी पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वामदेव गौतमसँग मात्र छलफल गरेर राजीनामा दिएपछि नेकपाभित्र असन्तुष्टि चुलिएको छ। यो विषयमा स्थायी कमिटी सदस्य र्इश्वर पोखरेलले त सार्वजनिक रुपमै आपत्ति जनाइसकेका छन् भने अर्का नेता भीम रावलले पनि काठमाडौंबाट वामदेवलाई उठाउने विषयको विरोध जनाएका छन्।

कुनै बेला ओलीका निकट मानिने मानन्धर पछिल्लो समय ओलीसँग रुष्ट थिए। दुई पटकसम्म काठमाडौंबाट निर्वाचित भएका मानन्धरले यो पटक मन्त्री पद पाउने अपेक्षा गरेका थिए। तर उनी ओली सरकारमा पर्न सकेनन्। मन्त्री, राज्यमन्त्री र संसदीय समितिको सभापति पनि नपाएपछि ओलीसँग बिच्किएका मानन्धर यतिबेला प्रचण्ड निकट मानिन्छन्।

वामदेवलाई सांसद बनाउन राजीनामा दिने विषयमा पनि मानन्धरले प्रचण्ड र गौतमसँग मात्र छलफल गरेका थिए। गौतमलाई सांसद बनाउने जस्तो महत्वपूर्ण विषयमा आफूहरुसँग छलफल नै नगरी प्रचण्डले रामवीर मानन्धरको राजीनामा पत्र ओलीलाई दिएपछि नेकपाभित्र अविश्वास सुरु भएको छ। यद्यपी रामवीरको राजीनामाको जानकारी सचिवालयमा गराउनु बाहेक छलफल भने भएको छैन।

आफूले मन्त्री, राज्य मन्त्री र संसदीय समितिको सभापति पनि नभएको झोँकमा रामवीरले प्रचण्ड मिल्न गएको नेकपा स्रोतले जनाएको छ। रामवीरलाई प्रचण्डले राष्ट्रियसभामा ल्याउने, केन्द्रीय सदस्य बनाउने र पछि मन्त्री पनि बनाउने आवश्वासन दिएको बताइएको छ। प्रधानमन्त्री ओलीसँग ‘बदला’ लिने प्रयास स्वरुप राजीनामाको घोषणा गरेका रामवीरलाई उनको यो राजीनामा ‘गलपासे’ हुने देखिएको छ। पार्टीभित्र उनलाई अनुशासनको कारवाही गर्न माग उठेको छ।

अर्कोतर्फ गौतमलाई काठमाडौं ७ बाट उम्मेद्वार बनाउने विषयमा चौतर्फी विरोध र आलोचना भएपछि रामवीरलाई राजीनामा गराउन लगाएका नेकपा अध्यक्ष प्रचण्डले काठमाडौं ७ बाट गौतमलाई उम्मेद्वार बनाउने निर्णय नभएको बताएका छन्। बुधबार काठमाडौंमा एक सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद ल्याउने सन्दर्भमा काठमाडौँ निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाको बारेमा पार्टी कुनै निर्णय नभएको बताएका हुन्।

अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउदै उनले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताए। प्रचण्डको भर परेर ओलीलाई घुर्की लगाउँदा अब रामवीर मानन्धरमाथि नै संकट आउने त होइन भन्ने प्रश्न जन्मिएको एक नेताले बताए।

२०७५ असोज २५ गते ३:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर