प्रचण्डको खतरनाक मास्टरप्लानः बामदेव र रामवीरलाई ‘ललिपप’, ओलीको ‘सफाया’

आजको खबर   |    प्रकाशित : २०७५ असोज २५ गते ५:०२

दामोदर नेपाल

काठमाडौं। पछिल्लो समय नेपाली राजनीतिमा रामवीर मानन्धर निकै चर्चामा छन् । काठमाडौं ७ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद मानन्धर सोही चुनावमा बर्दियाबाट हारेका नेता बामदेव गौतमलाई सांसद बनाउन आफ्नो पद नै बलिदान गर्न तयार भएपछि हटकेक बनेका छन् । रामवीरले काठमाडौं ७ को सांसदबाट राजीनामा दिने व्यहोराको पत्र पार्टी अध्यक्षलाई बुझाइसकेका छन् । उनले राजीनामा दिएसँगै रिक्त हुने सांसद पदपुर्ति गर्न नियमअनुसार त्यहाँ उपनिर्वाचन हुन्छ । सो उपनिर्वाचनमा बामदेव गौतम उम्मेदवार भएर जिती सांसद बन्ने दाउमा छन् ।

सतही चर्चामा रामवीर र बामदेव छन् तर यी दुवैलाई चलाउने रिमोट भने नेकपा अध्यक्ष प्रचण्ड भएको खुलेको छ । असोज २२ गते बसेको नेकपाको सचिवालय बैठकमा रामवीरको पत्र पार्टीका १ नम्बर अध्यक्ष केपी शर्मा ओलीलाई २ नम्बर अध्यक्ष प्रचण्डले थमाएपछि नै यो खेलका सूत्रधार प्रचण्ड भएको अनुमान लगाउन सकिन्छ । त्यसमाथि यो पत्र प्रचण्ड निवास खुमलटारमा सचिवालय बैठकभन्दा ठिक अघिल्लो रात तयार भएको खुमलटार स्रोत बताउँछ । प्रचण्डले रामवीर र बामदेवलाई ललिपप देखाइरहेका छन् । उनीहरु पनि प्रचण्डको आश्वासनमा मख्ख परेर उनले भनेझैं गर्दैछन् । उता प्रचण्ड भने यी दुईलाई गोटी बनाउँदै शक्ति हत्याउने दाउमा छन् ।

प्रचण्ड खुला राजनीतिमा आएपछि नै शक्तिकेन्द्रको रुपमा स्थापित छन् । सत्तामा भए पनि नभए पनि उनी सत्ताको समीकरण उल्ट्याउने क्षमता भएका नेताका रुपमा रहे । पछिल्लो समय एमालेसँग एकीकरण गरी नयाँ पार्टी नेकपा गठन भएपछि भने उनी छायामा परेका छन् । अहिले प्रचण्डसँग न सत्ताको बागडोर छ न पार्टीको । पार्टी एकीकरणका बेला एकले पार्टीको नेतृत्व र अर्कोले सरकारको नेतृत्व लिने गरी ओली र प्रचण्डले शक्ति बाँडफाँड गर्ने चर्चा चलेपनि त्यसो भएन । अहिले सरकार र पार्टी दुवैको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् । प्रधानमन्त्री ओलीको अहिलेको कार्यशैली हेर्दा उनी अर्को निर्वाचनसम्म पार्टी र सरकार दुवैको नेतृत्व छोड्नेवाला छैनन् । यस्तोमा आफूले यी दुवै शक्ति हात पार्न प्रचण्ड पार्टीभित्रै खेलिरहेका छन् ।

बामदेव सांसद बन्न लालायित छन् । तत्कालीन एमालेका सिनियर नेता बामदेव भावी प्रधानमन्त्रीका समेत दावेदार थिए । तर, बाम गठबन्धनको देशैभरी प्रचण्ड बहुमत आउँदा बामदेव चिप्लिए । बाम गठबन्धनका न्यून प्रभाव भएका र आलाकाँचा उम्मेदवारले समेत चुनाव जित्दा प्रभावशाली र सिनियर बामदेवले नै चुनाव हारे । यो चोट उनलाई असह्य भएको छ । उनी लामो समयदेखि नै उपनिर्वाचनबाट भए पनि सांसद बन्न चाहन्छन् । यसका लागि उनले झलनाथ खनाल वा माधव नेपालमध्ये एकलाई राष्ट्रपनि बनाएर त्यो ठाउँबाट उपनिर्वाचनमार्फत सांसद बन्ने प्रयास पनि नगरेका होइनन् । तर ती सबै प्रयास सफल नभएपछि उनी प्रचण्डसँग नजिकिएर रामवीरलाई राजीनामा गराउने र सांसद बन्ने आशामा छन् ।

रामवीर पनि प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छन् । रामवीरले काठमाडौं ७ बाट अहिले दोस्रो पटक चुनाव जितेका हुन् । लगातार दुई पटक चुनाव जितेपछि रामवीरले मन्त्री पाउने आशा गरेका थिए । तर, उनले मन्त्री त के राज्यमन्त्री पनि पाएनन् । रामवीर ओलीसँग खिन्न त थिए तर उनको आक्रोश त्यतिबेला बढ्यो जब उनले पार्टीमा आफूभन्दा जुनियर ठानेका नेतालाई अध्यक्ष ओलीले उनीभन्दा सिनियर बनाइदिए । रामवीरले प्रतिनिधिसभा निर्वाचनमा २ पटक जितिसकेका थिए । उनकै क्षेत्रबाट बसन्त मानन्धरले प्रदेशसभामा चुनाव जितेका थिए । आफू प्रतिनिधिसभा र बसन्त प्रदेशसभा सांसद भएकोले पनि रामवीरले बसन्तलाई आफूभन्दा जुनियर ठान्थे । तर, अध्यक्ष ओलीले बसन्तलाई केन्द्रीय सदस्य बनाए रामवीर परेनन् ।

केन्द्रीय सदस्य नै नपाएपनि रामवीरको अध्यक्ष ओलीप्रतिको आक्रोश चुलियो । यद्यपि यति बेलासम्म उनलाई आशा थियो – अध्यक्षले संसदीय समितिको सभापति भए पनि बनाउलान् । तर, यो आशा पनि निराशामा बदलियो, रामवीरले संसदीय समितिको सभापति पनि पाएनन् । त्यसपछि भने रामवीर प्रधानमन्त्रीको खुला आलोचक बने । सार्वजनिक रुपमै रामवीरले भन्न थाले ‘ओलीको काम छैन, ओलीबाट केही हुँदैन ।’ यो आलोचना पार्टीका एक सदस्यको नेतृत्वप्रतिको असन्तुष्टिको रुपमा लिन सकिन्थ्यो । तर, रामवीरले पत्रकार सम्मेलनका बेला चुरो कुरो फुत्काइहाले ‘ओलीलाई हटाएर बामदेवलाई प्रधानमन्त्री बनाउनुपर्छ ।’

रामवीरले बामदेवको नामै लिएपछि भने पार्टीभित्र रामवीर कसरी प्रयोग हुँदैछन् भन्ने प्रस्ट भयो । किनकि बामदेव सांसद नै होइनन् । सांसद नभएको व्यक्ति मन्त्री त बन्न सक्छ तर प्रधानमन्त्री बन्न सक्दैन । मन्त्री बन्नको लागि पनि उसले मन्त्री भएको ६ महिनाभित्र संघीय संसदको सदस्य बन्नै पर्छ । त्यसमाथि बामदेव त मौजुदा प्रतिनिधिसभा चुनाव हारेका व्यक्ति हुन् । संविधानमा प्रस्ट लेखिएको छ मौजुदा प्रतिनिधिसभा चुनाव हारेको व्यक्ति मन्त्री बन्न पाउँदेन । बामदेव कसरी प्रधानमन्त्री हुन सक्छन् ? यसको लागि उपनिर्वाचन हुनुपर्छ र बामदेवले त्यो उपनिर्वाचन जित्नुपर्छ । उपनिर्वाचन कहाँ हुने ? पार्टीभित्रकाले पत्तो पाइहाले – जसले यो सब बोलेको छ उसैले ठाउँ छोडिदिने । लगत्ते रामवीर आफैंले भने मैले राजीनामा दिन्छु ।

रामवीरको अध्यक्ष ओलीप्रतिको असन्तुष्टि र बामदेवको सांसद बन्ने लालसाका बीचमा प्रचण्डले आफ्नो शक्तिमा पुग्ने सपना सार्थक हुने बाटो भेट्टाए । त्यसपछि प्रचण्डले यी दुईलाई गोटीका रुपमा प्रयोग गर्न थाले । प्रचण्डले आफूलाई केन्द्रीय सदस्य, मन्त्री र राष्ट्रिय सभा सदस्य बनाउने आश्वासन दिएको रामवीर आफैंले भनेपछि पार्टीभित्र खैलाबैला मच्चियो । ओलीबाट आशा गरेका कुरा प्रचण्डले दिने आश्वासन दिएपछि रामवीर प्रचण्डको इशारामा राजीनामा दिन तयार भए । उता बामदेव पनि प्रचण्डको पहलमा आफू सांसद बन्ने बाटो खुलेपछि प्रचण्डसँग नजिकिन तयार भए । हुन त बामदेव पहिल्यैदेखि प्रचण्डलाई साथ दिने व्यक्ति हुन् । प्रचण्डको पहिलो प्रधानमन्त्रीकालमा भएको कटवाल काण्डमा पार्टीले सरकारको समर्थन फिर्ता लिँदा समेत बामदेवले अन्तिम समयसम्म प्रचण्डलाई समर्थन गरेका थिए ।

प्रचण्डले पार्टीभित्र ओलीप्रति असन्तुष्टिको माहोल तयार गर्दैछन् । ओलीनिकट रामवीरलाई आफूनिकट तानेसँगै प्रचण्डले एमालेको नवौं महाधिवेशनमा ओलीसाई आँखा चिम्लेर साथ दिएका बामदेवलाई समेत आफ्नो टिममा ल्याइसके । अहिले प्रचण्डले भनेकै भरमा प्रधानमन्त्रीले उनको कुरा मान्दैनन् । प्रधानमन्त्री ओली प्रचण्डका कुरासमेत बाइपास गरेर अगाडि बढिरहेका छन् जसका कारण प्रचण्ड भित्रभित्रै रुष्ट छन् । पार्टीभित्र असन्तुष्टिको माहोल तयार गरेर प्रधानमन्त्री ओलीलाई ट्रयापमा नपार्दासम्म उनले न प्रधानमन्त्री पद छोड्छन् न पार्टीको एक नम्बर अध्यक्ष । यही कारण ओलीलाई चेपुवामा पारेर प्रधानमन्त्री पद छोड्न बाध्य पार्ने प्रचण्डको दाउ छ ।

अहिलेको स्थिति हेर्दा प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद त कुनै पनि हालतमा छोड्दैनन् । यो कुरा प्रचण्डलाई पनि थाहा छ । तर, पार्टीभित्र प्रचण्डबाहेक अर्को विकल्प (तत्कालीन एमाले भित्रबाट) पाए ओलीले केही सहज रुपमा पद छोड्न सक्छन् । यो कुरा बुझेका प्रचण्डले बामदेवलाई दोस्रो विकल्पको रुपमा तयार पार्दैछन् । ओलीलाई चेपुवामा पारेर पद छाड्न बाध्य पारेपछि बामदेवलाई विकल्पको रुपमा प्रस्तुत गर्ने प्रचण्डको तयारी छ । बामदेवको उमेर पनि ढल्किसकेको र एकपटक प्रधानमन्त्री बन्ने इच्छा भएकोले त्यत्ति इच्छा पूरा गरिदिन ओलीलाई आग्रह गरेर बामदेवलाई प्रधानमन्त्री बनाउने प्रचण्डको दाउ हो । यसरी बामदेव प्रधानमन्त्री भए भने बामदेव पदमा त रहनेछन् तर हालिमुहाली प्रचण्डकै हुनेछ । प्रधानमन्त्रीबाट आफू अनुकूलका सबै निर्णय गराउन प्रचण्ड सक्षम हुनेछन् । आखिर बामदेव प्रचण्डका गोटी न हुन् ।

२०७५ असोज २५ गते ५:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर