धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न २ आरोपी पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ असोज २८ गते २:१४

सांकेतिक तस्बिर

धनुषा । पछिल्लो समय बलात्कारपछि हत्याका घटना बढ्दै गएका छन्। कञ्चनपुर र पोखरामा भएको बालिका बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै धनुषामा पनि यस्तै घटना सार्वजनिक भएको छ।

धनुषाको औरही नगरपालिका २ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ। हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।

हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन्।

उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि हत्या गरिएको हो। मुखियालाई जनकपुरबाट र पण्डितलाई गाउँबाटै शनिबार पक्राउ गरिएको थपलियाले बताए। मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन्।

आरोपितले मनिकालाई गाउँमै लागेको दुर्गा पूजाको मेला हेर्न र चाउमिन खुवाउने प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानमा थाहा भएको प्रहरीले बताएको छ। शुक्रबारदेखि छोरी हराइरहेको भनी मृतक बालिकाको अभिभावकले छोरी हराएको उजुरी गर्न इलाका प्रहरी कार्यालय औरही पुगेपछि बालिकाको खोजीकार्य शुरु गरिएको थियो।

स्थानीयवासीले मनिकाको शव धानबालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाएको छ।

२०७५ असोज २८ गते २:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर